काठमाण्डौ । उद्योग वाणिज्य महासंघ अन्तरगत गठित पूँजीबजार फोरमले सेयर बजारका दीर्घकालीन लगानीकर्तालाई २ प्रतिशत मात्रै लाभकर लाग्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । 

आगामी आर्थिक वर्षका लागि बजेट निर्माणमा जुटेको अर्थमन्त्रालयलाई लिखित सुझाव पेश गर्दै फोरमले दीर्घकालीन लगानीकर्तालाई २ प्रतिशत पूँजीगत लाभकर लगाउन भनेको हो । 

फोरमले दीर्घकालीन लगानीकर्ताको परिभाषा समेत सुझाउँदै जुनसुकै प्रकारले सेयर प्राप्त गरेको दिनदेखि ३६५ दिनपछि बिक्री गर्नेलाई सम्झनुपर्ने प्रष्ट पारेको छ । ३६५ दिनअघि नै सेयर बिक्री गर्नेलाई भने अल्पकालीन लगानीकर्ताको परिभाषा राखी उनीहरुको हकमा ५ प्रतिशत नै पूँजीगत लाभकर कायम गर्न पनि भनिएको छ । 

यस्तै, प्राकृतिक व्यक्तिले नेपाल स्टक एक्सचेञ्जबाट सेयर कारोबार गर्दा प्राप्त भएको पूँजीगत लाभकरलाई आयकर ऐन, २०५८ को दफा ९२ मा अन्तिम रुपमा कर कट्टी हुने भुक्तानीमा समावेश गर्न समेत सुझाइएको छ । 

संस्थागत लगानीलाई आकर्षित गर्न संस्थाले सेयर कारोबार गरी प्राप्त गरेको आयमा १५ प्रतिशत आयकर लगाउन, संस्थागत लगानीकर्ता र धितोपत्र व्यवसायीलाई अग्रिम करबापत १.५ प्रतिशत कायम गर्ने, सेबोनमा दर्ता हुने सामूहिक लगानी कोषका योजनालाई आयकर ऐन २०५८ को दफा १० मा कर नलाग्नेमा समावेश गर्ने, सामूहिक लगानी कोषमा रु. १ लाखसम्म लगानी गर्ने लगानीकर्तालाई सो बराबरको रकम करयोग्य आयबाट घटाउन पाउने व्यवस्था गर्ने सुझाव समेत दिइएको फोरमका संयोजक अम्बिकाप्रसाद पौडेलले जानकारी दिएका छन् । 

उनका अनुसार सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लानमा लगानी गर्नेलाई आयकरमा छुट दिने व्यवस्था गर्न समेत सुझाव दिइएको छ ।