काठमाण्डौ । नेपाल निर्यात परिषद्ले आगामी आर्थिक वर्षको बजेट समग्रमा राम्रो रहेको र कार्यान्वयन हुनेमा आशावादी रहेको जनाएको छ। 

परिषद् आज एक विज्ञप्ति जारी गर्दै बजेटको अक्षरस कार्यान्वय भएमा आगामी दिनमा नेपालको निर्यात व्यापार बढ्न गई राष्ट्रिय अर्थतन्त्रसमेत मजबुत हुने आशा व्यक्त गरेको हो। 

सरकारले आगामी बजेटमा कोभिडबाट थलिएका निर्यातजन्य उद्योगव्यवसायमा संलगन उद्यमीलाई मल्हम लगाउने खालका कार्यक्रम ल्याएकोमा परिषद्ले स्वागत गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा थप परिमाण र मूल्यको सामग्री निर्यात गर्ने निर्यातकर्तालाई थप अनुदान दिने र निर्यात अनुदानलाई उपत्पादकको तहसम्म पुर्याउनेजस्ता कार्यक्रम सरकारले आगामी बजेटमा समेटेको छ। 

त्यस्तै पश्मिना, फेल्ट, नेपाल हर्ब्स, एभरेस्ट बिग कार्डामम, नेपाल टी हिमालयन नेप्लिज कार्पेट, नेपाल कफीलगायत सामूहिक ट्रेडमार्कको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने र सामूहिक ट्रेडमार्कको नवीकरण दस्तुर नेपाल सरकारले व्यहोर्ने व्यवस्था पनि बजेटमा समेटिएको छ। अर्गानिक प्रमाणीकरणका लागि लाग्ने शुल्क छुट दिने व्यवस्था बजेटमा गरिएकोले निर्यातजन्य व्यवसायी उत्साहित बनेका छन्।

यसैगरी अन्तर्राष्ट्रिय व्यापार सुरक्षित वैदेशिक लगानी र पर्यटन प्रवर्द्धनका लागि परिभाषित जिम्मेवारीसहित विदेशस्थित कूटनीतिक नियोगलाई थप क्रियाशील बनाउने, तुलनात्मक लाभका उद्योगको स्थापना र सञ्चालन गर्न निजी क्षेत्रलाई सहुलियत प्रदान, वैदेशिक लगानीबाट स्थापित उद्योगको लगानी फिर्तालाई सरलीकरण गर्ने, एकल विन्दु सेवा केन्द्रवाट लगानीकर्तालाई प्रदान गरिने सेवा विद्युतीय माध्यमबाट उपलब्ध गराइने, निर्यातजन्य उद्योगमा विदेशी लगानी आकर्षित गर्ने, विदेशी लगानीकर्ताले नेपालमा उत्पादन गरी आफ्नो देशमा सतप्रतिशत निकासी गरेमा त्यस्ता उद्योगलाई आयकरमा थप छुट दिइने व्यवस्था पनि आगामी बजेटमा गरिएको छ। 

व्यापारको प्रवर्द्धन विकासका लागि स्वदेशी वस्तुको बृहत उत्पादन, बजारीकरण एवं मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन, स्थानीय कच्चा पदार्थ र श्रममा आधारित उत्पादन अभिवृद्धि उत्पादनलाई बजार प्रवर्द्धन गर्न इन्टनेटको प्रयोग गरी भर्चुअल ट्रेड शोको आयोजना गर्ने व्यवस्था पनि बजेटमा गरिएको छ। 

नेपालमा भ्रमण गर्ने विदेशी पर्यटकलाई एक महिना अवधिको पर्यटकीय भिसाा निःशुल्क, श्रमिकको सीप विकास गरी क्षमता अभिवृद्धि गर्न सीप बिकास तालिम, सार्क हस्तकला भवन निमार्ण कार्य सम्पन्न, काठमाण्डौ उपत्यकाभित्र अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण, निर्यात गृहको स्थापना र सञ्चालन, वन्डेड वेयर हाउसको सुविधाअन्तर्गत निर्यातमूलक उद्योगले बैंक ग्यारेन्टीमा आयात गरेको कच्चा पदार्थबाट उत्पादित वस्तु समयमै निर्यात गर्न नसकेका उद्योगका लागि निर्यात गरी बैंक ग्यारेन्टी फुकुवा गर्ने म्याद २०७८ चैत मसान्तसम्म बढाइएको छ। 

उता कोभिड १९ प्रभावित व्यवसायीका लागि पुनरकर्जा सुविधालाई निरन्तरता र पुनरकर्जा सुविधा उपयोग गर्न पाउने व्यवासायको क्षेत्र र रकमको सीमा विस्तार, तयारी पोसाक, पश्मिना, गलैँचा, जुट, रेशम र कपासमा आधारित निर्यातजन्य वस्तुको उत्पादन एवं निर्यातको सम्भावना रहेका उच्च मूल्ययुक्त बनस्पती र जडिबुटीको व्यावसायिक उत्पादन, प्रशोधन, प्रमाणीकरण र बजारीकरण गर्न प्रोत्सहित, अलंैची, चिया, कफी, अदुवा, जडीबुटीलगायत नेपालको पर्यावरण अनुकूल र मौलिक पहिचान भएका उत्पादनको उत्पादन, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त गुणस्तर प्रमाणीकरण, व्यवस्था, निकासी प्रर्वद्धन गर्न निजी क्षेत्रलाई बजेटमा थप सहुलियत प्रदान गरिएको छ।