काठमाण्डौ । सेयर ब्रोकरहरुले हाल रहेको पूँजीगत लाभकरको दर ७.५० प्रतिशतलाई नै अन्तिम करको रुपमा सम्बोधन हुनुपर्ने माग गरेका छन् । 

स्टक ब्रोकर एशोसिएसनको तर्फबाट बजेटका लागि सुझाव पेश गर्दै दीर्घकालिन लगानीलाई प्रोत्साहन गर्नुपर्ने र यसका लागि लगानी अबधि निर्धारण गरी फरक फरक करका दरहरु लागू गरी विद्यमान अवस्थामा रहेको पूँजीगत लाभ करको दर ७.५० प्रतिशतलाई अन्तिम करको रुपमा  सम्बोधन गरिनुपर्ने माग गरेको हो ।

'यस्तै प्रकृतिका अन्य करहरुमा ब्यक्तिले घरजग्गा खरिद  बिक्रि गर्दा लाग्दै आएको कर तथा घर भाडा कर ,ब्याज आम्दानी कर आदि अन्तिम करको रुपमा रहेका छन ।' सुझावमा भनिएको छ-'शेयर खरिद बिक्रि कारोबारबाट प्रप्त हुने मुनाफामा लाग्दै आएको लाभ कर सम्बन्धमा लगानी कर्ताहरुमा रहेको द्विबिधा हटाउन आबश्यक छ । पूँजीगत लाभकर सम्बन्धमा स्पष्ट नीति ल्याइनुपर्छ ।'

धितोपत्रको दोश्रो बजारमा कारोबार हुने शेयर र त्यसबाट प्राप्त हुने बोनस तथा हकप्रद शेयरमा लाग्ने करमा केहि समय पहिले राजश्व कार्यालयबाट आधार मूल्य रु.१०० मानी त्यो भन्दा माथिको बिक्री मूल्यमा पूँजीगत लाभकर लाग्ने भएकोमा त्यसलाई मन्त्रालयले अर्को ब्यबस्था नभए सम्म चलिरहेको ब्यबस्था अनुसार गर्ने भनि निर्देशन भएको उल्लेख गर्दै भनिएको छ–‘एभरेज बेस प्राइसमार्फत पूँजीगत लाभ कर गणना गरी लागू गर्दा उपयुक्त हुने भएकोले सोहीअनुसार व्यबस्था गर्न र त्यसलाई बजेटबाटै सम्बोधन गरी ब्यबस्थापन हुनुपर्छ । यसरी गणना भएको आधार मूल्यको अभिलेख धितोपत्र धारकको हितग्राहि खातामा प्राप्त हुने प्रणाली स्थापित गरिनुपर्छ ।’

२०७६ बैशाख १ गते बाट धितोपत्रको दोश्रो बजारमा रु. ५ लाख भन्दा माथिको कारोबारमा लगानी कर्ताले प्यानमा दर्ता हुनु पर्ने ब्यबस्था लागु भएको छ । यो ब्यबस्थामा नेप्से तथा सिडिएससिको राफसाफ प्रणलीमै अभिलेख हुने गरि प्रणालीमा थप ब्यबस्था गर्नुपर्ने एशोसिएसनको माग छ। ‘लगानीकर्ताको संख्या तथा तिनले गर्ने कारोबारको लगत यकिन छैन । वास्तविक ग्राहक पहिचान लागू गरी लगानीकर्ता तथा लगानीकर्ताको कारोबार तथ्याङ्क तथा लागतलाई ब्यबस्थित गरियोस् ।’ 

ग्राहक पहिचान गरी दर्ता गर्ने छुट्टै संस्था स्थापना हुनुपर्ने माग गर्दै नेप्से तथा सिडिएससिको प्रणालीबाट  स्वचालित रुपमा राजश्व कार्यालयमा लिङ्क  हुने व्यवस्था गर्न समेत सुझाव दिइएको छ ।