– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट आज सार्वजनिक गरेको छ। 

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको आय तथा व्यय सार्वजनिक गरेका हुन्। बजेटले सबै क्षेत्रलाई समेट्दै गर्दा पुँजीबजारका लगानीकर्ताहरुले पनि बजेटबाट पुँजीगत लाभकरमा हेरफेरको अपेक्षा राखेका थिए। बजेटमा पुँजीबजारमा एनआरएन भित्र्याउने पुरानै रटान दोहोर्याएको छ भने संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति लिएको छ। 

पुँजीबजारलाई विद्यमान कानुनमा समयानुकूल संशोधन गरी गतिशील बनाइने बजेटमा उद्घोष गरिएको छ। 

यसैगरी आवश्यक पूर्वाधार तयार गरी कमोडिटिज एक्सचेन्ज मार्केट तथा एसएमई प्लेटफर्म सञ्चालनमा ल्याइने बजेटमा उल्लेख छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बजेट समग्रमा नराम्रा नआएको बताए। ‘पुँजीबजारको विषयमा संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्ने र एनआरएनलाई भित्र्याउने भनिएको छ’, उनले भने, ‘यो राम्रै हो। खासगरी हाम्रा माग मौद्रिक नीतिले सम्बोधन गर्ने हो। आउने मौद्रिक नीतिले सम्बोधन गर्ला।’

बजार जानकार मुक्ति अर्यालले बजेट ठीकै रहेको प्रतिक्रिया दिए। ‘पुँजीबजारलाई खासै सम्बोधन नभए पनि एनआरएन भित्र्याउने तथा संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्ने विषय छ’, उनले भने, ‘त्यसैले बजेट त्यति नराम्रो पनि छैन।’ 

अर्का बजार जानकार केशव कोइरालाले पुँजीबजारलाई खारगरी बजेटले खासै केही नगर्ने बताए। ‘लगानीकर्ताले बजेटबाट धेरै आशा गर्ने विषय पनि होइन’, उनले भने, ‘खासगरी पुँजीबजारलाई मौद्रिक नीतिले सम्बोधन गर्ने हो। तर, पनि आज बजेटमार्फत एनआरएलाई भित्र्याउने भन्ने छ। यो विगतमा पनि थियो तर यसपालि क्षेत्र पनि छुट्टाएको छ। जलविद्युत र उत्पादनमूलक कम्पनीमा भित्र्याउने भन्ने छ। यो राम्रो विषय हो।’