काठमाण्डौ । संभवत इतिहासमै पहिलोपटक सरकारले सेयर बजारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरको सीमा घटाएका छन् भने बजार तथा लगानीकर्ता प्रोत्साहित हुने अन्य थुप्रै कार्यक्रम समेटेका छन् । 

बजेट प्रस्तुत गर्दै उनले त्यस्तै बोनस शेयर र हकप्रद शेयरको पूँजीगत लाभकर गणना गर्दा भारित औसत ‘वेटेज एण्ड एभरेज’का आधारमा गणना गर्ने  घोषणा गरेका छन् । 

यस्तै, सेयर लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाल प्राकृतिक व्यक्तिलाई लाग्दै आएको पूँजीगत लाभकरको दर ५ प्रतिशतमा सीमित गरिएको बताएका छन् । यसअघि यस्तो लाभकर ७.५० प्रतिशत थियो । 

बजारका लागि अन्य के-के आयो ?
डा. खतिवडाले धितोपत्रको दोस्रो बजारमा निश्चित कारोबार गर्ने भन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताको स्थायी लेखा नम्बर(प्यान)सहितको विवरण नेप्से तथा सिडिएससीको राफसाफ प्रणालीमा आबद्व गरिने घोषणा गरेका छन् । 

धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज(नेप्से(को संस्थागत सुधार गरिने, गैरआवासीय नेपालीले दोस्रो बजारबाट पनि लगानी गर्न पाउने गरी पूँजीबजारलाई अझ फराकिलो बनाउने घोषणा गरेका छन् । 

कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, निक्षेप तथा सुरक्षण कोषको वित्तीय विवरण एकिकृत रुपमा प्रकाशन गर्ने व्यवस्था मिलाईने र ट्रस्टि ऐन बनाएर सेयर अभौतिकीकरण र सिडिएससी लगायतका कार्य व्यवस्थित गरिने घोषणा समेत बजेटमार्फत गरिएको छ । 

सबै प्रकारका ऋणपत्र र धितोपत्रको कारोबार विद्युतीय प्रणालीबाट गर्न विद्युतीय कारोबार प्रणालीलाई सुरक्षित र पारदर्शी बनाइने अर्थमन्त्रीले घोषणा गरेका छन् भने सरकारी ऋणपत्र खरिद र बिक्रीका लागि पनि अनलाइन प्रणालीको विकास गरिने कार्यक्रम बजेटमा समावेश भएको छ ।