प्रतिनिधिसभामा सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि यही जेठ १५ गते प्रस्तुत गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) को सत्तापक्षबाट बचाउ र प्रतिपक्षबाट आलोचना हुनेक्रम तीन दिनदेखि जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेन्द्रप्रसाद पाण्डेले वित्तीय अनुशासनलाई ख्याल राखेर ल्याइएको बजेट नेपाली जनताको अपेक्षा र सही मार्गदर्शनअनुरुप भएको टिप्पणी गर्नुभयो ।
पूर्वअर्थमन्त्री पाण्डेले भन्नुभयो, “प्रदेश र स्थानीय तहमा कर्मचारीको व्यवस्था भएकाले आगामी दिनमा पूँजीगत खर्च बढ्नेछ, सामाजिक सुरक्षासम्बन्धी नयाँ व्यवस्थाले अर्थतन्त्र चलायमान बनाउनेछ ।”
प्रमुख प्रतिपक्ष दलका मीन विश्वकर्माले अप्ठ्यारो र गलत दिशातर्फ उन्मुख रहेको यस पटकको बजेटले देशको विकास र जनताको हितमा योगदान दिन नसक्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय पूँजीको संरक्षण गर्ने विषयमा बजेट बोल्दैन, बजेटले आन्तरिक ऋण बढाउने पक्कापक्की भएको छ, भन्सार दर समायोजन त्रुटिपूर्ण छ ।
राजपाका राजेन्द्र महतोले ५१ प्रतिशत जनसङ्ख्या रहेको तराई –मधेशमा कति बजेट विनियोजन भएको छ भनी प्रश्न गर्दै बजेट विभेदकारी भएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बजेट सङ्घीयता विरोधी ढङ्गबाट आएको छ, यसले सङ्घीयतालाई स्थायित्व दिन योगदान गर्दैन ।”
समाजवादी पार्टी नेपालका रामसहायप्रसाद साहले सङ्घीयताको मर्म र भावनाविपरीत तथा प्रदेश र स्थानीय तहलाई अघि बढाउने पक्षमा बजेट नरहेको बताउँदै कार्यान्वयनको सुनिश्चितता कम रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्घीयताको मर्मलाई पूर्ण आत्मसात् गर्न नसकेको बजेटले मातृभाषालाई उपेक्षा गरेको छ, प्रदेश र स्थानीय तहलाई साँघुरो बनाउने ढङ्ग देखाएको छ, समावेशिताको सिद्धान्तलाई बेवास्ता गरेको छ । विनियोजनका हिसाबले प्रदेशलाई विश्वविद्यालयजस्तो बनाउने ढङ्गबाट ल्याइएको छ ।
नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले धनी र गरीब वर्गबीचको खाडल झनै बढाउने ढङ्गबाट बजेट आएको र यो झुटको पुलिन्दाको रुपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मजदूर, किसान र कामदारको पक्षमा बजेट छैन, कृषि, शिक्षा, स्वास्थ्यमा बजेटले ध्यान दिएको छैन ।
दलित र विपन्नलाई छात्रवृत्ति दिन माग
राष्ट्रियसभामा आजदेखि बजेटमाथि सामान्य छलफल शुरु भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७६/७७ राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेपछि छलफल शुरु भएको गर्नुभएको हो ।
सांसद राधेश्याम अधिकारीले सङ्घीयतामा विकासको आधारभूत काम स्थानीय तह र प्रदेशतहबाट हुनुपर्नेमा सुझाव दिनुभयो । उहाँले शिक्षामा जम्मा बजेटको १०.६ प्रतिशत छुट्याए पनि दलित र विपन्नलाई छात्रवृत्ति दिने कुरा संविधानमा व्यवस्था गरेपछि सोअनुसार गर्नुपर्ने सुझाव दिनुभयो ।
सांसद अधिकारीले सामुदायिक विद्यालयलाई बलियो बनाउनका लागि स्थानीय तहसँग पनि साझेदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै कृषि अनुसन्धान केन्द्रमा आएका निष्कर्ष कृषकमा पु¥याउन जरुरी रहेको बताउनुभयो । मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास र अतिथिगृह बनाउनुपर्ने आवश्यकता अहिले नरहेको उहाँको भनाइ थियो ।
सांसद डा विमला पौडेलले बजेट अनुशासित र सन्तुलित भएको र साहै्र महत्वाकाङ्क्षी नभई राजश्वले नै चालू खर्च चल्ने खालको भएको टिप्पणी गर्नुभयो । उहाँले आर्थिक वृद्धि र सामाजिक सुरक्षाका विषय निकै महत्वपूर्ण रहेको र करको फराकिलो दायरामा सुधार हँुदै गएको बताउनुभयो । सांसद पौडेलले ठूला परियोजनालाई पनि उच्च प्राथमिकता राखिनु राम्रो भएको उल्लेख गर्दै शिक्षाका पूर्वाधार, शैक्षिक वातावरण र उत्प्रेरणामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सांसद दिलकुमारी रावलले बजेटले सबैलाई समेटेको र मुख्य गरी गर्भवती र सुत्केरीलाई हवाईजहाजमार्फत उद्धार गर्ने कुरा महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । बजेटमाथि छलफल जारी छ ।
राष्ट्रियसभामा बजेटमाथिको बाँकी छलफल जेठ २७ मा
राष्ट्रियसभामा ‘आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहेको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले यही जेठ २३ गतेसम्म सामान्य छलफल हुने भनिए तापनि २३ गतेको बैठक २७ गते बस्ने जानकारी दिनुभयो । बजेटमाथिको सामान्य छलफल आजदेखि तीन दिनसम्म चल्ने भनिएको थियो ।
बजेटमाथिको छलफलमा सांसद कोमल ओलीले बजेट जनचाहनाको दस्तावेजका रुपमा आएको र यो न्यायसहितको विकासको स्पष्ट रुपरेखा भएको बताउनुभयो । उहाँले कृषिको आधुनिकीकरण र व्यावसायीकरणमा ध्यान दिनु बजेटको महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्नुभयो ।
सांसद सुमनराज प्याकुरेलले बजेटमा ज्येष्ठ नागरिकलाई केन्द्रमा राख्नु स्वागतयोग्य भएको र समाजका सबै वर्ग र समुदायकलाई समेटेको बताउनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २७ गते बिहान ११ बजे बस्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago