काठमाण्डौ । आ.ब. २०७५/७६ को जेष्ठ १५ गते प्रस्तुत बजेटले पूँजीबजारलाई महत्वपूर्ण स्थान दिएको भन्दै हल्लाको पछि नलाग्न र स्वविवेक प्रयोग गरी लगानी गर्न सेयर लगानीकर्ता संघले लगानीकर्ताहरुलाई आह्वान गरेको छ । 
 
बुधबार एक विज्ञप्ति जारी गर्दै संघले बजारको सुधारका लागि बजेटले निकै धेरै कुरा समेटेको र अर्थमन्त्रीले सेयर बजारलाई महत्वपूर्ण स्थान दिएका भन्दै बजारका लागि सुखद बजेटको बिषयमा सकारात्मक बन्नुपर्नेमा जोड दिएको हो । 
 
बजार सुधारका लागि बजेटले समेटेका बिषयलाई बुँदागत रुपमा प्रस्तुत गरेको छ । जुन यसप्रकार छ:
  •  १) राष्ट्र बैंक ऐन, बिमा समिति ऐन र धितोपत्र ऐनमा आवश्यक संशोधन ।
  • (२) प्राईभेट इक्वीटि फण्ड, हेज फण्ड र भेन्चर फण्ड पूँजीबजारमा प्रवेश गराउने ।
  • (३) बिमा कम्पनी र हाइड्रोपावर कम्पनीलाई प्रोत्साहन ।
  • (४) भ्याटमुक्त पूँजीबजारको अवधारणा ।
  • (५) उत्पादनमूलक कम्पनीलाई अनिवार्य पूँजीबजारमा प्रवेश गराउने ।
  • (६) ५० करोडको कम्पनीले  आइपीओ जारी गरेमा कर छुटको व्यवस्था ।
  • (७) नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष र निक्षेप तथा कर्जा सुरक्षण कोषको नियमन गर्ने तथा  डिलरसिपको जिम्मेवारी दिने व्यवस्था गरिने जस्ता कुरा अत्यन्त सकारात्मक छन् । 
'पूँजीबजारलाई अर्थ मन्त्रीज्यूले नितान्त आवश्यक छ भन्ने कुराको पुष्टि ५० करोड भन्दा माथिका १ अरब सम्मका कम्पनीहरुलाई पूँजी बजारमा सूचिकृत गर्नु पर्ने बाध्यात्मक व्यवस्थाले गरेको स्पष्ट छ ।’ महासचिव जगन्नाथ पूडासैनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘यी तथ्याङ्कहरुले पूँजीबजारको भविष्य अत्यन्त उज्वल रहेको र अन–लाइन कारोबार समेत छिटृै आउने कुरामा आशावादी हुँदै सबै लगानीकर्ताहरुमा सकारात्मक सोचका साथ आफ्नो विवेक प्रयोग गरी शेयर कारोवार गर्न हुन समेत हार्दिक अनुरोध गर्दछौं ।’