काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन्। 

अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले भने, ‘बजेट सुनाउनका लागि होइन, कार्यान्वयनका लागि ल्याइएको हो। बजेटप्रति जबाफदेही छौँ।’

अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा नभएका बेला संवैधानिक प्रावधानअनुसार बजेट प्रस्तुत गरिएको दाबी गरे। त्यसमा द्विविधा नराख्न आग्रह गर्दै उनले भने, ‘कुनै ठाउँमा बसेर केही नेताले वक्तव्य दिँदैमा सरकारको वैधानिकता खण्डित हुँदैन।’ 

अर्थमन्त्री पौडेलले संविधानअनुसार ल्याउनैपर्ने भएर जेठ १५ गते बजेट ल्याइएको बताए। ‘मतदाता प्रभावित गर्नका लागि बजेट ल्याइएको होइन’, उनले स्पष्ट पारे। 
 
कोभिड–१९ ले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने गरी बजेट आएको भन्दै पौडेलले समयमा खोप ल्यायो भन्ने गरी काम गर्ने बताए। उनले बजेटको कार्यान्वयनका लागि व्यवस्थित योजना बनाएर अघि बढ्ने पनि जानकारी दिए। 

कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुंगानाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका साथै खोपको व्यवस्था गरेपछि आर्थिक पुनरुत्थान हुने विश्वासका साथ बजेट आएको बताए। राजस्व सचिव रामशरण पुडासैनीले नयाँ कर लगाएको नभई कानुनबमोजिम सामान्य समायोजन गरेको स्पष्ट पारे।