काठमाण्डौ । नेपाल टेलिकमले बडादसैँको समयमा आफन्त र साथीभाईलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने सुविधा ल्याएको छ ।

कम्पनीले यस प्रकारको सामूहिक सन्देश पठाउन यो सेवा प्रयोग गर्न सकिने बताएको छ ।उक्त सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिन्छ ।

जसअनुसार २ हजार, ५ हजार र १० हजार वटासम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने ग्रुप एसएमएस सेवा उपलब्ध छ । प्रतिसन्देश ५० पैसामा पठाउन सकिने प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १ हजार रुपैयाँ लाग्छ । 

यस्तै २ हजार ५०० रुपैयाँमा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिन्छ । यसैगरी ५ हजार रुपैयाँमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिन्छ ।कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर भने समावेश छैन ।

उक्त सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ  । साथै कम्पनीले यस प्रकारको ग्रूप एसएमएस यसअघि नै सञ्चालनमा ल्याइसकेको पनि बताएको छ ।