काठमाण्डौ । प्रोफिट बुक गर्ने हतारो र सर्टटर्म कारोबारी हाबी भएपछि बिहीबारको बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक४.३६ अंकले घटी १२२९.७७ को विन्दूमा समेटिए पनि कारोबार रकम भने बढेर ७८ करोड माथि पुगेको छ । 

नेप्से परिसूचकमा सामान्य करेक्सन देखिए पनि कारोबार रकम भने निरन्तर बढ्नुले अत्तालिनुपर्ने अवस्था भने छैन । बजारमा लगानीकर्ताको सक्रियता बढेको यसले देखाउँछ भने यस्तो बेलामा निकै सम्हालिएर लगानी गर्नुपर्दछ । बजारको हल्ला, आफन्त वा साथीभाईको आधारहीन कुराको पछि लाग्नु भन्दा कम्पनीको अवस्था आफैंले बुझेर अगाडि बढ्न सके बुल ट्रयापमा परिन्न । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.८१ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.५ अंकको गिरावट आएको छ। 

यो दिन व्यापार समूह ३.७६ अंकले बढ्यो भने उत्पादनमूलक २०.४१ र अन्य समूह १४.०५ अंकले बढे । 

बाँकी सबै समूहको सूचक घट्यो । बैंकिंग समूह ५.०९ अंकले घट्यो भने होटल समूह ४.९४ अंक, विकास बैंक समूह १५.०९ अंक, जलविद्युत समूह १५.९६, बित्त समूह ३.२२, निर्जीवन बिमा समूह ८४.०७, माइक्रोफाइनान्स समूह १५.०८ र जीवन बिमा समूह ३८.८२ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ७४ कम्पनीका ३२ लाख ८ हजार ५ सय ९३ कित्ता सेयर ७८ करोड ५८ लाख ५४ हजा ६ सय २ रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा बढी एनएमबी बैंकले १० करोड बढीको कारोबार गर्यो । एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ५७ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा कुमारी बैंकले २ करोड ९३ लाख, प्राइम कमर्सियल बैंकले २ करोड ६० लाख बढीको कारोबार गरे । ग्लोबल आइएमई बैंकको २ करोड २४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल बैंकले २ करोड १६ लाख, एनसीसी बैंकले २ करोड ९ लाख, प्रभू बैंकले १ करोड ९५ लाख, सिद्धार्थ बैंकले १ करोड ७९ लाख र मेगा बैंकले १ करोड ६५ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि काबेली विकास बैंकका लगानीकर्ताले नै कुस्त कमाए । आकर्षक बोनसका कारण यो बैंकको सेयर मूल्य बिहीबार पनि १० प्रतिशतको हाराहारीमा बढ्यो । विगत ४ दिनदेखि यो बैंकको सेयर प्रत्येक दिन १० प्रतिशतले वृद्धि भइरहेको छ । 

यो दिन मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ९.२७ प्रतिशतले घट्यो ।