काठमाण्डौ । पछिल्लो समय सेयर बजार बढ्न थालेपछि मंसिर महिनामा म्युचुअल फण्डहरुको प्रतिइकाई सम्पत्ति मूल्य (न्याभ) समेत बढेको छ ।

४२ वटा फण्डहरुले सार्वजनिक गरेको वित्तीय विवरणका आधारमा कात्तिक महिनाको तुलनामा मंसिरमा सबै म्युचुअल फण्डहरुको न्याभ बृद्धि हुन पुगेको छ । 
 

सेयर बजारमा सुधार देखिन थालेसँगै म्युचुअल फण्डहरुको न्याभ बढेको हो । गत कात्तिक महिनामा औसतमा साढे ९ रुपैयाँ रहेको फण्डहरुको न्याभ मंसिर महिनामा बृद्धि भएर १० रुपैयाँ पुगेको छ । 
 

लगातार बजार घट्दा म्युचुअल फण्डहरुको न्याभपनि घट्दै गएको थियो । बजार बढ्दा फण्डहरुको न्याभ बढ्ने हुन्छ, भने बजार घट्दा न्याभ पनि घट्ने गर्दछ । 
 

पछिल्लो समय केहि मर्चेण्ट बैंकरहरुले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) योजना समेत ल्याएका छन् । जसमा फण्डहरुको न्याभ बढ्दा लगानीकर्ताको पोर्टफोलियोमा फण्डको इकाई थप हुन जाने मर्चेण्ट बैंकर बताउँछन् । 
 

कात्तिकमा सिटिजन सुपर–३० बाहेक सबै फण्डहरुको न्याभ घटेको थियो भने एनआईसी एशिया ग्रोथ फण्ड र हिमालयन ८०–२० बाहेक सबै फण्डहरु नोक्सानीमा थिए ।
कसको न्याभ कति ?
मंसिर महिनाको वित्तीय विवरणअनुसार सबैभन्दा बढी न्याभ सनराइज फस्ट म्युचुअल फण्डको रहेको छ । फण्डको न्याभ मंसिर महिनामा ११.०६ रुपैयाँ रहेको छ ।

कात्तिकको तुलनामा यस फण्डको न्याभ ०.४४ रुपैयाँले बढेको हो । कात्तिकमा उक्त फण्डको न्याभ १०.६२ रुपैयाँ थियो । त्यस्तै, दोस्रोमा सानिमा इक्विटी फण्डको ११.०२ रुपैयाँ छ भने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को १०.९८ रुपैयाँ छ ।

मंसिर महिनामा ११ रुपैयाँभन्दा बढी न्याभ दुई वटा फण्डको मात्रै पुगेको छ । त्यस्तै, २० वटा म्युचुअल फण्डको न्याभ रुपैयाँभन्दा बढी छ, भने १७ वटा फण्डको न्याभ ९ रुपैयाँमाथि छ ।

त्यस्तै, नबिल ब्यालेन्स्ड फण्ड ३ सहित तीनवटा फण्डको न्याभ भने ८ रुपैयाँमाथि छ । 
न्याभ बढाउन कुन अब्बल ?
कात्तिक महिनाको तुलनामा मंसिरमा सबैभन्दा बढी एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले न्याभ बृद्धि गरेको छ । फण्डले एक महिनामै ७१ पैसाले न्याभ बृद्धि गरेको छ । 

 

त्यस्तै, लक्ष्मी क्यापिटल मार्केट लिमिटेडद्वारा सञ्चालित दुई म्युचुअल फण्ड लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले कात्तिक महिनाको तुलनामा मंसिरमा ६९ पैसाका दरले न्याभ बढाएका छन् । 
 

४२ म्युचुअल फण्डमध्ये सबैभन्दा कम बृद्धि गर्नेमा हिमालयन ८०–२० छ । उक्त फण्डले कात्तिकको तुलनामा मंसिरमा १२ पैसाले मात्रै न्याभ बढाएको छ ।