-अर्जुन तिमिल्सिना
व्यापार जहिले पनि जोखिमपूर्ण हुन्छ । कुनै पनि व्यवसाय जोखिमरहित हुन्न । हाई रिस्क, हाइ गेन भन्ने चलन पनि छ ।जति धेरै जोखिम लिन सक्यो नाफा पनि उति नै हुने हो । शेयर बजार त झन् उच्च जोखिमयुक्त व्यवसाय मानिन्छ । त्यसैले नै हो कतिले जति आफ्नो हातमा आयो त्यत्तिनै आफ्नो भनेर बेच्ने पनि गर्छन् । सबैको आफ्नो आफ्नो रणनीति हुन्छ, त्यहीअनुसार चल्ने हो ।  शेयर बजारमा तीन वोटा समय हुन्छ, जुन प्राबिधिक हिसाबले हेर्ने हो भने प्रस्ट बुझिञ्छ। बाइङ्ग पिरिअड, होल्डिंग  पिरिअड र सेलिङ्ग पिरिअड । जब टिइएमए  रेखाले तलबाट काटेर माथि जान्छ, त्यो समय भनेको किन्ने समय हो । नेपालको शेयर बजारमा जनवरी पहिलो हप्ता यस्तो भएको थियो ।अहिले यी दुई रेखा टाढा-टाढा हुँदै गएका छन् जुन भनेको होल्डिंग पिरिअड भन्ने बुझिन्छ । त्यसैले  नै जति बेच्यो उति घाटा भएको छ । जतिबेला  टिइएमए रेखाले माथिबाट काटेर तल झर्छ, शेयर बेच्नैपर्छ। यो प्राबिधिक रुपमा बुझ्ने भाषा हो । अहिले नै टिइएमए रेखाले माथिबाट काटेर तल झरेको अवस्था होइन ।

बजार बढेपछि घट्छ र घटे पछि बढ्छ, यो मान्छे जन्मेपछि मर्छ भने जस्तै हो । बजार लामो समय झन्डै ६ सय अंक बढेको थियो । जुन करेक्शन हुन जरुरी पनि थियो, अब बजार घटेपछि छुटेका लगानीकर्ता लिएर फेरी दुई हजारको बाटोमा हिंडछ । यसको आधार के छ ? 

पहिलो आधार भनेको कारोबार नै हो । बजार घटेको छ, तर कारोबार बढेको छ र दोस्रो आधार भनेको अनलाइन कारोबार हो । देशविदेशबाट शेयर कारोबार भएको छ । ४० प्रतिशत कारोबार अनलाइनबाट भएको छ । तेस्रो आधार भनेको अहिले हरेक ब्रोकरमा दैनिक ५० जनाभन्दा बढीले केवाईसी फर्म भरेका छन् । यसको अर्थ  बजारमा धेरै नयाँ तथा पुराना लगानीकर्ता छिरेका छन् भन्ने पनि हो । 

बजार जहिले पनि एक कदम पछि हट्दै दुई कदम जम्प गरेको हुन्छ र अब पनि गर्ने त्यही नै हो ।

शेयर बजारमा प्राबिधिक रुप मात्र हेरेर चल्नु ठीक होइन, यो त एउटा सामान्य आधार मात्र हो । देशको राजनीति र अर्थनीतिले पनि बजारलाई असर गरेको हुन्छ भन्ने कुरा भुल्न नहुने पक्ष  हो । बाजार जति बढ्दै गयो मज्जा र आनन्द पनि त्यत्ति नै हुन्छ । मानौ हामी सुन्तलाको बोटमा झोला लिएर फल टिप्न चढ्यौं, जति माथि गयो दाना त्यत्ति राम्रा देखिन्छन, हामीलाई लोभ लाग्दै जान्छ । बोटको जति माथि गयो जोखिम पनि त्यत्ति नै बढ्छ । यस्तै हो शेयर बजार । जति बढ्यो जोखिम त्यत्ति नै बढ्छ । यही भएर शेयर बजारमा जोखिम ब्यवस्थापनको उपाय के होला त ? हामीले श्रीमतीको गरगहना, घरघडेरी शाहू महाजन धितो राखेर किनेको शेयरको जोखिम व्यपस्थापन गर्न के कति आवश्यकता छ, त्यो आफैं बुझ्ने कुरा हो ।

केही जोखिम व्यवस्थापनका उपाय निम्न छन्:
१.अल्पकाली र दिर्घकालीन योजना बनाउने: 
आफूले कस्तो कम्पनीको शेयर किनिएको छ भन्ने कुरा राम्रोसँग बुझ्न जरुरी छ । कुन शेयर अल्पकालका लागि हो र कुन दीर्घकालीन हो त्यो छुट्याउने र कति नाफा भएपछि बेच्ने हो, त्यो अहिले नै निर्धारण गर्ने । दिर्घकालीन योजना बनाउँदा सकेसम्म आधारभूत हिसाबले बलिया कम्पनी छान्न सकिन्छ भने अल्पकालका लागि सानो पूँजी भएका खेलाडी लागेका कम्पनी छान्न सकिन्छ । 

२.जीरो इन्भेष्टमेन्ट पोलिसी: बढेकोको बजारमा यो निकै राम्रो उपाय हो । आफूसँग भएको केही शेयरको मात्र बेचेर लगानी फिर्ता गर्ने र नाफाको मात्र शेयर बजारमा छोड्ने । यसो गर्दा भबिष्यको बजारको अवस्था जे भए पनि फाइदा नै हुन्छ । घटेमा थप किन्ने पैसा हुन्छ, बढेमा पनि आफूसँग शेयरको मात्र हुन्छ नै । विश्वव्यापी रुपमा यो पोलिसी निकै उपयुक्त हुन्छ । 

३.शेयर धितो कर्जा नलिने: शेयर कारोबारमा सकेसम्म लोनबाट शेयर नकिन्दा नै हुन्छ । शेयर धितो कर्जा सहज भए पनि आफूले भनेको बेला बेच्न नसकिने हुँदा सकेसम्म नलिएकै राम्रो र लिनै परे  पनि सहज बैंक तथा बित्तीय संस्थाबाट लिंदा कारोबार गर्न सहज हुन्छ । बढेको बजारमा फाइदा भए पनि घट्दो बजारमा मार्जिन कलले लगानीकर्तालार्इ ठूलै तनाव पनि शेयर लोनले दिने गर्छ । यसको विकल्पमा अन्य लोन लिंदा कम दवाब हुन्छ ।

४.नगद मौज्दात राखिराख्ने: भन्ने पनि गरिन्छ मानिसहरु जोसँग नगद छ, त्यही नै व्यापारको राजा हो । व्यापारिक सिद्धान्तमा कम्तीमा पनि आफ्नो ब्यापारको ३० प्रतिशत नगद मौज्दात राख्नैपर्ने सिद्धान्त हो । कहिलेकाही नगद अभावले ठूलै अवसर पनि गुम्ने हुँदा यो आवश्यक छ । 

कोरोना  भाइरसले कस्तो असर पर्ला शेयर बजारमा ?
सरकारले नेपाल भर्मण बर्ष नै स्थगित गरेको अवस्थामा र विश्वव्यापी अर्थतन्त्रमा असर पर्ने आँकलन गरेको अवस्थामा नेपालका लगानीकर्तामा पनि मनोबैज्ञानिक असर पर्नु स्वभाविक हो । केही लगानीकर्ताले चीनजस्तो देशमा त असर गर्यो, नेपालमा नपर्ला ? भन्ने गरेको पनि सुनिन्छ । पहिला हामी के कुरामा प्रस्ट हुनुपर्यो भने हाम्रो अर्थतन्त्रको स्रोत कुन हो ? चीनको निर्यातमुखी अर्थतन्त्र हो, उनीहरुको उत्पादन घट्दा सिधैं असर गर्छ भने हाम्रोमा रेमिटेन्समा आधारित अर्थतन्त्र हो, जुन खाडी राष्ट्रमा बढी निर्भर छ । भलै सरकारको दोहोरो अंकको लक्ष्यलाई त असर गर्ला, तर समग्र रुपमा अहिले नै असर गर्ने देखिन्न । बरु यसले अन्य व्यापारमा रोकिएको पैसा भूकम्पको बेला जसरी अझै थप शेयर बजारमा नै आउनसक्छ । अर्को आधार भनेको अहिले नेपाली शेयर बजार  प्रविधिमा फड्को मारेको छ, कसैलाई शेयर किनबेच गर्न ब्रोकर र भीडभाडमा  जानु आवश्यक नै छैन, अनलाइनमार्फत घरैबाट गर्न सकिने हुँदा पनि कोरोना भाइरस अन्यत्र ज्यानै लिने हानिकारक भाइरस  भए नि शेयर बजारमा  बरदान नै हो । किनबेच र घटबढ त शेयर बजारको सामान्य सिद्धान्त हो केही समयको आधार शिविरमा बिश्रामपछि बजारले फेरि सगरमाथाको उकालो चढ्ने निश्चित छ ।