काठमाण्डौ । कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि यसको नियन्त्रण र रोकथामका लागि सरकारले २ वटा रणनीति बनाएर अगाडि बढिरहेको प्रष्ट्याएको छ । 

स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वीरगञ्जमा ३ नयाँ संक्रमित फेला परेपछि सरकारले अपनाउने २ रणनीति सार्वजनिक गरेका हुन् । 

‘संक्रमितको संख्या बढिरहेको अवस्थामा हामीले २ वटा रणनीति अपनाएर अगाडि बढ्ने निर्णयमा पुगेका छौ ।’ उनले भने–‘यी दुई रणनीतिमा सबैबाट साथ र सहयोग हुने भो हो कोरोनाविरुद्धको लडाई जित्न सकिन्छ ।’ 

डा. देवकोटाका अनुसार सरकारको पहिलो रणनीति अन्तर्गत लकडाउनको पूर्ण पालना गरी नागरिकहरुलाई सेल्फ क्वारेन्टाइनमै बस्न उत्प्रेरित गर्नु हो । विदेशबाट फर्किएका, तर घर पायक नपर्नेहरुले स्थानीय निकायले निर्माण गरेका क्वारेन्टाइनमा बसेर सरकारको अभियानमा सहयोग गर्नुपर्ने हुन्छ ।

यस्तो गर्न सकिएमा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नफैलिने र घरसम्म संक्रमण समेत नआइपुग्ने डा. देवकोटाले बताए । 

दोश्रोमा, सरकारले नमूना परीक्षणको दायरा बढाउने रनणीति लिएको उनले जानकारी दिए । ‘यो रणनीतमिा संक्रमण छ छैन पत्ता लगाउन सहज हुन्छ, संक्रमण भएमा उपचार गर्न सजिलो हुन्छ । संक्रमण नभए भावी रणनीति तय गर्न सजिलो हुन्छ ।’ उनले भने–‘दुवै रणनीतमा पूर्ण सहयोगका लागि म सबैमा आह्वान गर्छु।’

उनले नयाँ वर्ष २०७७ मा सबै मिलेर जिम्मेवार बनी कोरोना संक्रमणको महामारीविरुद्धको लडाईमा विजय हासिल गर्नुपर्नेमा समेत जोड दिए ।