काठमाण्डौ । दोस्रो बजारमा म्युचुअल फन्डका सेयरमूल्य अंकितमूल्य रु. १० प्रतिइकाइभन्दा कममा फालाफाल पाइरहेको छ।

म्युचुअल फन्डले प्राथमिक बजारमार्फत रु. १० प्रतिइकाइ तोकी निष्कासन गर्दछ। तर बढ्दो बजारमा समेत म्युचुअल फन्डप्रति लगानीकर्ता आकर्षित नहुँदा म्युचुअल फन्डका स्किम अहिले पनि अंकित मूल्यभन्दा निकै तल्लो मूल्यमा फालाफाल पाइन्छ।

म्युचुअल फन्डहरुमा सेयर बजार विज्ञ, सूचनाको स्रोत र पूर्वाधार हुँदासमेत फन्डमा लगानीकर्ता पछिल्लो समय आकर्षित नभइरहेको जानकारहरु बताउँछन्। आईपीओमा आरक्षण, पुँजीगत लाभकर छुटलगायतका सुविधा पाउँदासमेत म्युचुअल फन्डले लगानीकर्ताहरुलाई ३–४ वर्षसम्म रिटर्न नदिने अनि दिए पनि एकाधबाहेक सिंगल डिजिटमा रिटर्न दिने भएकाले समेत बढ्दो बजारमा समेत म्युचुअल फन्डका स्किमका मूल्य आकासिन नसकेको विज्ञहरुको भनाइ छ।

सनराइज म्युचुअल फन्डको प्रतिइकाइ मूल्य भने अंकित मूल्यबराबर नै रु. १० रहेको छ। १० वटा म्युचुअल फन्डको प्रतिइकाइ मूल्य भने रु. १० भन्दा मुनि नै दोस्रो बजारमा फालाफाल पाइरहेको छ। अंकित मूल्यभन्दा पनि तल नबिल इक्विटी फन्डको प्रतियुनिट मूल्य रु.८.४० छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १९ म्युचुअल फन्डहरुमध्ये ३ वटाको बजारमूल्य अंकित मूल्यभन्दा माथि रहेको छ। सिटिजन म्युचुअल फन्ड १, एनएमबी हाइब्रिड फन्ड १ र सानिमा इक्विटी फन्डको युनिटमूल्य क्रमशः प्रतिइकाइ रु. ११.३, रु.१०.१० र रु.१०.१८ मा किनबेच भइरहेको छ।

(नोटः म्युचुअल फन्डको बजारमूल्य गत बिहीबारको अन्तिम मूल्य लिइएको छ।)