काठमाण्डौ । पछिल्लो समय देशमा कोरोना कोरोना संक्रमणमुक्त हुनेको संख्या दैनिक बढ्न थालेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ६ हजार १३५ जना संक्रमणमुक्त भएका छन्। यो हालसम्मकै एक दिनको उच्च आँकडा हो। हिजो पनि देशभर ५ हजार ५५ जना संक्रमणमुक्त भएका थिए।

केही दिनयता संक्रमितको थपिने संख्या भने घट्न थालेको छ। पछिल्लो २४ घन्टामा ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ। हिजो ८ हजार ९६० रहेको थियो।

पछिल्लो २४ घन्टामा उपत्यकामा ३ हजार ३४९ जना संक्रमित थपिएका छन्। जसमा काठमाण्डौमा २ हजार ४५८ जना, ललितपुर ५५६ जना र भक्तपुरमा ३३५ जना छन्। 

हालसम्म कोरोनाबाट देशभर ४ लाख ३९ हजार ६५८ जना संक्रमित भएका छन् भने संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ जना पुगेको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ जना रहेको छ। 

पछिल्लो २४ घन्टामा थप २०३ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ४ हजार ६६९ पुगेको छ।