काठमाण्डौ । सुनसरी र कास्कीमा बर्डफ्लू भेटिएपछि त्यसको त्रासले कुखुरा तथा कुखुराजन्य उत्पादनको भाउ घट्ने अनुमानका बीच अण्डाको मूल्य बढाइएको छ । 

नेपाल अण्डा उत्पादक संघले माग अत्यधिक रहेको उल्लेख गर्दै मूल्य बढाएको हो । संघका अध्यक्ष शिवराम केसीका अनुसार ठूलो अण्डाको फार्म मूल्य प्रतिक्रेट ३ सय ४५ र बिक्री मूल्य ३ सय ५० रुपैयाँ कायम गरिएको छ । यस्तै, मिडियम अण्डा प्रतिक्रेट फार्म मूल्य ३ सय १५ र बिक्री मूल्य ३ सय २० रुपैयाँ निर्धारण गरिएको उनले बताए । यसअघि प्रतिगोटा १२ देखि १३ रुपैयाँ तिर्दै आएका उपभोक्ताले अब प्रतिगोटा अण्डाको १५ रुपैयाँ तिर्नुपर्नेछ ।

संघका अनुसार चैत ६ गते मात्र ठूलो अण्डा फार्म मूल्य प्रतिक्रेट ३ सय २० र बिक्री मूल्य ३ सय २५, मिडियम अण्डा फार्म मूल्य प्रतिक्रेट २ सय ७० र बिक्री मूल्य २ सय ७५ रुपैयाँ कायम गरिएको थियो । 

बर्डफ्लूको त्रासले मूल्यमा खासै फरक नपारेको उल्लेख गर्दै अध्यक्ष केसीले आगामी दिनमा अण्डाको बजार माग अझ बढे मूल्य अझ बढाइने प्रष्ट पारेका छन् ।