काठमाण्डौ। सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ।

नेपाल आयल निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै यातायात व्यवस्था विभागले आज (साउन ३१ गते)देखि लागू हुने गरी अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा पनि बढाएको हो। योसँगै विभागले सार्वजनिक यातायात र मालवाहक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरेको छ। 

नयाँ भाडादरअनुसार सार्वजनिक सवारीसाधनको भाडादर ४.७० प्रतिशतले वृद्धि भएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको छ।

यो भाडा दुई वा सोभन्दा बढी प्रदेश अथवा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागू विभागले जनाएको छ। 

निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको छ।