काठमाण्डौ। अमेरिकाबाट सञ्चालित सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ बन्द हुने अवस्थामा पुगेको छ ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल एक्स(साविकको ट्वीटर) को प्रतिस्पर्धामा ल्याउन खोजको ‘ट्रुथ सोसलले शुरुवाती दिनदेखि हालसम्म ७३ मिलियन डलर घाटा व्यहोर्नु परेकोे छ । यस अनुसार २०२२ को सुरूवातदेखि सन् २०२३ को मध्यसम्म कम्पनीले उक्त रकम गुमाउनु परेको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सन् २०२३ को सुरूवाती छ महिनामा मात्रै ट्रुथ सोसलले २३ मिलियन घाटा व्यहोर्नु परेको छ। अब यस्तै अवस्था रहिरहे प्लेटफर्म चलाउन नसक्ने ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रूप (टीएमटीजी) को लेखा परीक्षकले बताएका छन् । यो प्लेटफर्मका लागि थप लगानी गरिरहने सम्भावना न्यून रहेको समेत उनले बताएका छन् ।


डिजिटल वर्ल्ड एक्विजिसन कर्पले कम्पनी गाभ्ने सिलसिलामा सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनमा बुझाएको फाइलिङमा यो कुरा उल्लेख छ । 

तत्कालीन ट्वीटर, फेसबुकजस्ता ठूला प्रविधि कम्पनीहरूले आफूलाई प्रतिबन्ध लगाएपछि उनले सन् २०२१ अक्टोबरमा सामाजिक सञ्जाल ल्याउने घोषणा गरेका थिए ।

सामाजिक खाताहरु बन्द भएपछि उनले नयाँ सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ बनाउने घोषणा गरेलगत्तै ट्वीटरले दुई वर्षपछि उनको खाता एक्टिभेट गरिदिएको थियो । खाता एक्टिभेट भएपनि ट्रम्पले चलाएका छैनन ।  -एजेन्सी