काठमाण्डौ । संसारमा केही देशहरुले चिनियाँ सर्टभिडियो एप टिकटकलाई प्रतिबन्ध लगाएका छन् ।

कतिपय देशले आंशिक प्रतिबन्ध लगाएका छन् भने केहिले पूर्णरुपमा टिकटकलाई प्रतिबन्ध लगाएको अवस्था छ । अमेरिकामा भने सबै राज्यमा टिकटक प्रतिबन्ध लगाइएको अवस्था भने छैन ।

दुई दशक पहिले आतकंबादी घोषणा गरेको ओसामा बिनलादेनले लेखेको चिट्ठी हालैका दिनमा टिकटकमा भाइरल बनेपछि अमेरिकी सरकारलाई टाउको दुखाइ  बनेको छ ।

समाचार संस्था सीएनएनका अनुसार २००१ को सेक्टेम्बर ११ मा आतकंबादी हमलापछि लेखिएको उक्त चिट्ठीमा अमेरिकी सरकारको आलोचना गरिएको थियो भने इजरायल सरकारलाई समर्थन गरिएको थियो । यसमा अझै अनौठो विषय के छ भने हाल इजरायलको द्वन्द्वसँग जोडेर कतिपय अमेरिकीहरुले बीनलादेनप्रति सहानुभूति जनाएका छन् । 

बिनलादेनको पत्रप्रति समर्थन गर्ने र अन्य प्रयोगकर्ताहरूलाई पत्र पढ्न आग्रह गर्दै धेरै भिडियोहरू इजरायल र हमास बीच भइरहेकोे युद्धमा अमेरिकी समर्थनको आलोचनाको व्यापक सन्दर्भमा साझा गरिएको छ ।

गत बिहीबार मात्रै टिकटकले उक्त चिट्ठीको प्रचार गर्ने भिडियोले कुनै पनि प्रकारको आतंकवादलाई समर्थन नगर्ने बताएको छ । तर कम्पनीले यसको डेटा दिन भने अस्वीकार गरेको समाचारमा उल्लेख छ ।

यो साता भाइरल बनेको त्यो पत्रमा सहानुभूतिसहित १४ मिलियन भ्यूज आएपछि अमेरिकी सरकार झस्किएको हो । यहाँका टिकटक प्रयोगकर्ताहरुले ह्यासट्याग गरेर  लेटर टू अमेरिका भन्दै अत्यधिक सेयर गरेको पनि उक्त समाचारमा उल्लेख छ ।

सन् २०११ मा अमेरिकी विशेष फौजको आक्रमणमा अलकायदा आतंकवादी समूहका पूर्व नेता ओसामा बिनलादेन मारिएका थिए । उनकै योजनामा ट्विन टावरमा आक्रमण गरिएको थियो ।-एजेन्सी