-प्रकाश न्यौपाने
काठमाण्डौ । लामो समयदेखि लगातार घटिरहेको बजार अर्थमन्त्रीमा बिष्णु पौड्याल आएलगतै करिब चारसय अंकले बढेको थियो। तर नीतिगत सुधार हुने आशामा बजारमा आएको सकारात्मक प्रभाव अर्थमन्त्रीबाट बिष्णु पौड्याल बाहिरिएलगत्तै कायम रहन सकेन । 

नयाँ अर्थमन्त्री नियुक्ति हुन समय लाग्दा बजारमा अनपेक्षित करेक्सन आयो। 

यता, ढिलागरी नयाँ अर्थमन्त्री नियुक्ति भएपछि पनि बजार सम्हालिन सकेको छैन । 

लगातार बजार झरिरहेको बेला थप सेयर खरिदका लागि लगानीकर्ता डराइरहेका छन् । 

सेयर बजारमा बिश्व चर्चित वारेन बफेटको भनाई छ–‘बजार घटेर न्यून बिन्दुमा आएका बेला अधिकांश लगानीकर्ता डराएर सेयर बिक्री गर्ने गर्छन्, तर जसले यो बेला राम्रा कम्पनीका सेयर खरिद गरेर  दीर्घकालसम्म राख्छ, उसैले बजारबाट राम्रो नाफा कमाउनसक्छ।’

तर, बफेटको यो ‘गुरुमन्त्र’ले नेपालको सेयर बजारमा काम गरेको छैन । अहिलेको बजारमा सस्तोमा सेयर किन्ने र दीर्घकालसम्म पर्खिने लगानीकर्ताको संख्या नगण्य छ । नीतिगत अस्थिरताका कारण जुनसुकै बेला जे पनि हुनसक्ने नेपालजस्तो बजारमा नेप्से घटेर न्यून विन्दूमा पुगेको बेला कौडीको भाउमा सेयर किन्न पाइरहँदा समेत लगानीकर्तामा थप सेयर किन्ने चासो र आँट नै देखिन्न । आखिर किन यस्तो भइरहेको छ त ? सपथलगत्तै गभर्नरलाई प्राथमिकताका साथ भेटेका अर्थमन्त्रीलाई बजारले किन पत्याइरहेको छैन ?

बजार जानकार प्रेम ओलीको भनाईमा अघिल्ला अर्थमन्त्री बिष्णु पौड्यालले पहिलो दिनमै सेयर बजार सकारात्मक प्रभाब पार्ने बिषयहरु मन्त्रीपरिषदबाट निर्णय गराएका थिए। पत्रकार सम्मेलनमार्फत आम लगानीकर्तालाई बिश्वास दिलाएका थिए । 

बैंकहरुको ब्याज बढ्दै उच्च बिन्दु पुगेका बेला निबर्तमान अर्थमन्त्री पौड्यालले थोरै मात्रै भए पनि ब्याजदर घटाएर ठोस काम गर्न खोजे जस्तो देखाएकोले बजार माथि गएको ओली सम्झिन्छन् । अहिलेका अर्थमन्त्री महतले ठोस काम गरेर देखाउन नसक्दा पनि बजारको गिरावट नरोकिएको उनको भनाई छ । ओली भन्छन्–‘लगानीकर्तामा अर्थमन्त्री र गभर्नरको सम्बन्ध कस्तो हुने हो भन्ने पनि चासो देखिन्छ। अहिलेको अर्थतन्त्र चलायमान बनाउने र बजारलाई प्रत्यक्ष प्रभाव पार्ने ब्याजदर सम्बन्धी जुनसुकै नीति नियम राष्ट्रबैंकको निर्णयबाट तलमाथि हुने भएकोले पनि यस्तो भएको हो । त्यसकारण अर्थमन्त्रीसँगका छलफलहरुपछि गभर्नरले चाल्ने कदमले लगानीकर्ताको मनोबलको भविष्य निर्धारण होला ।’

अर्थमन्त्रीले गभर्नरलाई बिश्वासमा लिएर छिटो ठोस निर्णय गर्न नसक्दा र चैत मसान्तको ब्याज लगायतका दवाबका कारण पनि बजार लगातार घटिरहेको उनको दाबी छ । 

अर्का बजार जानकार बिष्णु वस्ती आर्थिक मन्दीका कारण बजारमा करेक्सन आएको बताउँछन् । ‘मन्दीकै कारण आम लगानीकर्ताले सेयरबजार मात्र नभई हरेक सेक्टरबाट घाटा खाएका छन। कतैबाट पनि नाफा कमाई नहुँदा बजारमा थप नयाँ पैसा आउन सकेको छैन ।’ उनले भने । 

गएको एक वर्षमा आइपीओ र हकप्रदको बाढी नै आएकोले समेत लगानीकर्तासँग भएको रकम सकिएको उनको दाबी छ । अल्पकालीन कारोबारीलाई पनि योपटक बजारबाट धेरै घाटा भएकोले लगानीकर्ता परिपक्व हुने अवसर सिर्जना भएको र अधिकांश ‘पर्ख र हेर’को रणनीतिमा बस्दा बजारको करेक्सन नथामिएको उनको भनाई छ । 

‘जबसम्म अर्थतन्त्रमा देखिनेगरी सुधार आउँदैन तबसम्म अवस्था त्यति सहज हुँदैन । विगतमा सेयर बजारमा नकारात्मक प्रभाव पर्ने गरी राष्ट्रबैंकले बनाएका नीतिहरु खारेजी वा संसोधन नै भए पनि तत्काल बजार धेरै माथि जाने सम्भावना देख्दिँन ।’ उनले भने–‘अर्थमन्त्रीले अर्थतन्त्र उकास्न बिज्ञहरुको टोली बनाई तत्काल आयात घटाउने र देशमा उत्पादन बढाई देशको पुँजी बाहिरिनबाट रोक्न कसिलो नीति ल्याउनुपर्छ । यस्ता कदमले अर्थतन्त्रमा बिस्तारै सुधार हुँदै जानेछ । अर्थतन्त्रमा सुधार भएपछि त्यसको प्रभावले सेयर बजार लगायतका क्षेत्रमा समेत सुधार देखिनेछ।’