काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से इन्डेक्सको गिरावटले निरन्तरता पायो ।

साताभरि नेप्से इन्डेक्सको गिरावट चौथो दिन पनि सम्हालिँदै इन्डेक्स ११ सय ५० विन्दु माथि नै रह्यो । दुई साता लगातार नेप्से इन्डेक्समा आएको बढोत्तरी अनुशासित रुपमै करेक्सन हुँदै बन्द भयो । ११ सय १० को विन्दुमा धेरै समय टसको मस नगरेको इन्डेक्सले १२ सयको विन्दु चुम्न लाग्दा बजारमा सर्ट टर्म कारोबारीले प्रफिट बुक राम्रैसँग गर्न सफल भए ।

दीर्घकालीन लगानीमा जोखिम पो हुने हो कि भन्ने अलमलमै पर्दा निकै लामो समयदेखि प्रफिट बुक गर्न आतुर भएकै कारण नेप्सेको उकालो गतिमा ब्रेक लागेको हो । यही द्विविधाका कारण कारण लगानीकर्ताको मनोबल नबढ्दा बजारमा बढोत्तरी नदेखिएको हो । नेप्से इन्डेक्सको वृद्धिसँगै केही साताअघि प्रवेश गरेका नयाँ लगानीकर्ताहरुलाई बाहेक इन्डेक्स ११ सय १० सेरोफेरोमा सेयर खरिद गरेका कारोबारीहरुले प्रतिकित्ता रु. ५० देखि रु. १०० सम्म प्रफिट बुक गरिसकेको अवस्था हो ।

हाल सूचीकृत कम्पनीका केही स्क्रिप्टहरु सानो समूहले चलाउँदा ती स्क्रिप्टहरुको सेयरमूल्यमा अप्राकृतिक रुपमा समेत बढाइएको पाइएको छ।

आजको दिन नेप्से इन्डेक्सन ३.३ अंकले गिरावट आउँदै ११ सय ५२.०७ सीमित बन्न पुग्यो भने सेन्सेटिभ इन्डेक्समा पनि ०.८ अंकले घट्दै २५२.४७ अंकमा खुम्चिन पुग्यो ।

यो दिन नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये तीनवटा हरियो पोतियो भने अरु सबैमा रातो पोतियो । यस दिन व्यापार, विकास बैंक र अन्य समूहमा क्रमशः २०.१९, २.०५ र ०.६८ अंकको बढोत्तरी भयो ।

यस्तै सबैभन्दा धेरै होटेल्स, निर्जीवन बिमा र जीवन बिमा उपसमूहमा क्रमशः ४३.०७, ३७.७३ र २२.३७ अंकले घट्यो । यस्तै बैंकिङ, हाइड्रोपावर, वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फन्डमा क्रमशः १.७४, ७.३९, १.३१, ११.७७, ८.१८ र ०.०२ अंकले घट्यो ।

सबैभन्दा बढी कारोबार गर्ने कम्पनी

आजको दिन नेप्सेमा सूचीकृतमध्ये १६५ कम्पनीका ९ लाख ४७ हजार ८५३ कित्ता सेयर २९ करोड ४७ हजार ९ हजार ८५८ रुपैयाँमा कारोबार भयो ।

यस दिन सबैभन्दा धेरै एनएमबी बैंकको ४ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भयो । यसैगरी नेपाल बैंक, नबिल बैंक र साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) ले क्रमशः १ करोड ६२ लाख, १ करोड १४ लाख र १ करोड १२ लाख रुपैयाँबराबरको कारोबार गर्न सफल भए ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, देवः विकास बैंक, डिप्रोक्स लघुवित्त, नयाँ नेपाल लघुवित्त र एनआईसी एसिया बैंकले पनि क्रमशः ८७ लाख ४० हजार, ८३ लाख ८६ हजार, ८० लाख ८२ हजार, ७५ लाख ७१ हजार, ७३ लाख ९४ हजार र ७१ लाख २३ हजार रुपैयाँबराबरको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने

आजको दिन तीनवटा कम्पनीका सेयरधनीहरुले राम्रो कमाए । सेयरमूल्यमा झन्डै १० प्रतिशतको हाराहारी वृद्धि भएपछि बिशाल बजार कम्पनी, नेपाल फाइनान्स र दिव्यश्वरी हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले उच्च कमाउन सफल भएका हुन् ।

यो दिन नेपाल सेवा लघुवित्त र सिभिल लघुवित्तका सेयरधनीहरुले धेरै गुमाउन पुगे । यी दुवै कम्पनीका सेयरमूल्यमा क्रमशः ८ र ६ प्रतिशतको हाराहारीमा गिरावट आयो ।