काठमाण्डौ । साताको पहिलो दिन आज आइतबार नेप्से सूचकांक घट्ने क्रमले निरन्तरता पाए पनि नेपाल लाइफ इन्स्योरेन्सको बम्पर लाभांश प्रस्तावको आशमा लगानीकर्ता झुम्मिएका छन् ।
कारोबारको पहिलो दिन आइतबार सुरुआती अवस्थादेखि घट्न थालेको नेप्से परिसूचकांकमा अन्तिम अवस्थामा झन्डै ५ अंकको गिरावट आएर बन्द भएको हो ।
गत साताको अन्तिम कारोबार दिन बिहीबारको तुलनामा ४.९९ अंकले नेप्से परिसूचकांक घट्दै ११६२.४३ अंकको विन्दुमा सीमित बन्न पुग्यो । आजको दिन सेन्सेटिभ इन्डेक्स पनि अघिल्लो कारोबार दिनको तुलनामा ०.९८ अंकले घट्दै २५३.३९ विन्दुमा झरेको छ ।
बजार पुँजीकरणमा महत्वपूर्ण हिस्सेदारी कायम गरेका कृषि विकास बैंक र नेपाल बैंकका बोनस सेयरका लागि सेयरमूल्य समायोजन नेप्सेले गरेपछि त्यसको असर प्रत्यक्ष रुपमा नेप्से सूचकांकमा परेको देखिन्छ । भोलि पनि केही बैंकका नेप्सेले बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दैछ । यसै कारण पनि नेप्से सूचकांक नकारात्मक बनेको हो ।
नेप्सेमा सूचीकृत अधिकांश कम्पनीका सेयरमूल्य समायोजन हुने क्रम बढ्नु र वार्षिक साधारणसभाको मौसम सुरु भएकाले नेप्से सूचकांकमा केही असर पर्ने जानकारहरु बताउँछन् ।
साना लगानीकर्ताहरुले सर्ट टर्म प्रफिट दिने सेयरहरुमा रमाउनु र ठूला लगानीकर्ताहरु भने सीमित स्क्रिप्टहरुमा मात्र कारोबारमा सक्रिय हुँदा बजारको गति पुसको चिसोझैँ चिसिँदै गएको देखिन्छ । यद्यपि बजार अब सकारात्मक दिशामा अगाडि बढ्ने भने दुईमत नरहेको उनीहरुको ठम्याइ छ ।
यसैबीच नेपाल लाइफको निकट भविष्यमा बम्पर लाभांश प्रस्ताव हुने हल्ला बजारमा सल्बलाएसँगै लगानीकर्ताहरु यो स्क्रिप्टमा झुम्मिएका छन् । जसका कारण आजमात्रै यो स्क्रिप्टमा करिब ५ करोड रुपैयाँको हाराहारीमा कारोबार भयो ।
आजको दिन नेप्से उपसमूहमा रहेका १२ वटा कम्पनीमध्ये चारवटामा मात्र हरियाली छायो भने अन्य आठ समूहमा रातो पोतियो ।
यस दिन सबैभन्दा बढी बिमा समूह चम्कियो । यो समूहमा ८०.७२ अंकको बढोत्तरी भयो । त्यस्तै व्यापार, वित्त र अन्य समूहमा क्रमशः ४७.८८, १.९७ र १.४८ अंकले वृद्धि भयो ।
यो दिन सबैभन्दा धेरै होटल्स समूहमा गिरावट आयो । यो समूह १५.६३ अंकले घट्यो । बैंकिङ, विकास बैंक, जलविद्युत, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फन्डमा क्रमशः ८.५६, ६.४८, ५.९१, १०.४८, १११.०९, ८.८२ र ०.१८ अंकले गिरावट आयो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आजको दिन नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १८१ कम्पनीका १५ लाख ५४ हजार ८९० कित्ता सेयर ४२ करोड २४ लाख ५३ हजार ९०९ रुपैयाँमा कारोबार भयो ।
यस दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उच्च कारोबार गर्न सफल भयो । यो कम्पनीले ४ करोड ८४ लाख रुपैयाँबराबरको कारोबार गर्यो ।
त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयर र प्राइम कमर्सियल बैंकले पनि राम्रो कारोबार गर्न सफल भए । दुवै कम्पनीको क्रमशः ३ करोड ६६ लाख र २ करोड १ लाख रुपैयाँबराबरको कारोबार भयो ।
यसैगरी नेपाल बैंक, शिवम् सिमेन्ट, साल्ट ट्रेडिङ, हिमालयन डिस्टिलरी, नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल बैंक र साना किसान विकास लघुवित्त वित्तीय संस्थाले क्रमशः १ करोड ८६ लाख, १ करोड ३८ लाख, १ करोड ३१ लाख, १ करोड २३ लाख, १ करोड ६ लाख, १ करोड १ लाख र ८९ लाख ९९ हजार रुपैयाँबराबरको कारोबार गरे ।
धेरै कमाउने र धेरै गुरमाउने
आजको दिन साल्ट ट्रेडिङ (एसटीसी) का सेयरधनीहरुले धेरै कमाउन सफल भए । यो दिन यो कम्पनीको सेयरमूल्यमा झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भएर सर्किट लाग्यो ।
यो दिन प्रोग्रेसिभ फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा झन्डै ७ प्रतिशतको हाराहारीमा गिरावट आयो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago