– अर्नुज तिमिल्सिना

काठमाण्डौ । सेयर बजारमा प्राविधिक र आधारभूत विश्लेषण दुवै महत्वपूर्ण हुन्छन्। यथार्थमा यी दुवै एकै सिक्काका दुई पाटो हुन्। जसरी सक्कली तथा नक्कली नोट चिन्न दुवै पाटो पल्टाउन आवश्यक छ, त्यसरी नै लगानीकर्ताले कम्पनीको यथार्थ चित्रण गर्न दुवै पक्ष केलाउन सेयर बजारमा आवश्यक हुन्छ। 

सेयर बजारमा विभिन्न विश्लेषकहरुका आ–आफ्नै मत र विश्लेषण गर्ने शैली हुन्छ। केही मात्रामा मत फरक परे पनि मर्म भने पक्कै एउटै नै हुनुपर्छ। 

‘अर्थशास्त्रमा ५ अर्थशात्रीका ६ निचोड’ भनेजस्तै प्राविधिक विश्लेषणमा पनि विभिन्न विश्लेषकहरुमा तर्क–बितर्क हुनु स्वाभाविक नै हो। तर, मूल सिद्धान्तको व्याख्या भने एउटै नै हुन्छ र हुनुपर्छ। 

खासगरी प्राविधिक विश्लेषण ट्रेडरहरुले प्रयोग गर्ने भएकोले यो हरेक लगानीकर्ताले फरक–फरक औजार प्रयोग गरेर कारोबार गर्न सक्छन्। लगानीकर्ताले एउटै औजार र रणनीतिमा कारोबार गर्दा अनुशासित कारोबार हुने भएकोले सेयर बजारमा प्राविधिक विश्लेषणको भूमिका र महत्व अवश्य नै छ। 

संसारमा आज वारेन बफेट आधारभूत विश्लेषणबाट परिचित छन् भने आरएन इलिअट तथा लियोनार्दो फिवोनासी प्राविधिक विश्लेषणमा प्रख्यात छन्। सेयर कारोबार एक व्यापार भएकोले यसमा रणनीतिले मुख्य काम गर्छ भन्ने हाम्रो ठम्याइ छ।

यसै सिलसिलामा आज हामीले हिमालयन डिस्टिलरी लिमिटेडलाई आधारभूत तथा प्राविधिक रुपमा हेरेका छौँ। हिमालयन डिस्टिलरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्पादन तथा प्रशोधन समूहमा सूचीकृत छ। हिमालयन डिस्टिलरी नेपालमा प्राइभेट कम्पनीअन्तर्गत दर्ता भई सन् १९८५ देखि  सञ्चालित रहेको थियो। सन् २००१ बाट पब्लिक कम्पनीअन्तर्गत दर्ता भएको यो कम्पनीमा सेयर स्वामित्व संस्थापकको ६२ प्रतिशत र सर्वसाधारणको ३८ प्रतिशत रहेको छ। 

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी ८६ करोड ७७ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा ७६ करोड ८२ लाख रुपैयाँ रहेको छ। कम्पनीको नेटवर्थ १८८.५४ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्ति १९२ रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी १०३.३८ रुपैयाँ रहेको कम्पनीको मूल्य आम्दानी अनुपात ५३.६४ गुणा रहेको छ। 

यो कम्पनीको ८ वर्षको लाभांश इतिहास हेर्ने हो भने वार्षिक औसत ४५.५ प्रतिशत रहेको छ। तेस्रो त्रैमाससम्म खुद नाफा ६७ करोड २७ लाख रुपैयाँ रहेको कम्पनीको रिर्टन अन इक्विटी ४९ प्रतिशत रहेको छ भने प्राइस टु बुक भ्यालु १९.४९ गुणा रहेको छ। 

सेयर बजारमा यो कम्पनीको सेयरमूल्य ५२ हप्ताअघि सबैभन्दा तल १६१८ रुपैयाँ रहेको थियो भने सबैभन्दा उच्च ५७३८ रुपैयाँ पुगेको थियो। यस कम्पनीका उत्पादनमा गोल्डेन ओक, ब्ल्याक ओक, र पछि ब्लु ओक रहेका छन्।

प्राविधिक पक्ष 

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ धेरै विश्वासिलो मानिन्छ। किनकि यो वेभले लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। यो वेभमा ५ वेभ र ५ डिग्री  हुन्छन्। त्यस्ता डिग्री सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्।

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३ र ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सन हुन्छ। 

वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सी बजार तल जाने संकेत गर्छ। यो कम्पनीले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा इन्टरमिडियट डिग्रीअन्तर्गत वेभ (४) चलेको देखिन्छ भने माइनर डिग्रीअन्तर्गत वेभ ए, बी र सी चलेको चल्दै गरेको बुझिन्छ। यसअन्तर्गत यो कम्पनीको सेयरमूल्यमा सामान्य करेक्सन भएर इन्टरमिडियट डिग्रीको (४) मा लगभग ५१०० रुपैयाँसम्म र त्यसपछि सोही डिग्रीको  वेभ (५) बनाउन लगभग ६५०० रुपैयाासम्म पुग्न सक्ने अनुमान लगाउन सकिन्छ। (तस्बिर माथि) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपात २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.३८ प्रतिशतको टेवा ५३५० रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवा ५१४६ रुपैयाँसम्म, ०.६१ प्रतिशतको टेवा ४९६४ रुपैयाँसम्म र ०.७८ प्रतिशतको टेवा ४७०८ रुपैयाँसम्म आउन सक्ने देखिन्छ। 

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार  मान्ने हो भने केही दिनपहिला एमएसीडी लाइनले सिग्नल लाइनलाइ माथिबाट काटेको र बियरिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् रातो एरो)। जसले बियरिस सिग्नल भर्खरै बनेको छ र हिस्टोग्राम नेगेटिभ भएका छन्। यसले केही समय सेयरमूल्य करेक्सन हुन सक्ने बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको मूल्यरेखा मध्यरेखाभन्दा माथि नै रहेको छ। यसले कम्पनीको सेयर बुलिस नै रहेको बुझिन्छ भने केही समय साइडवेज तथा सामन्य करेक्सन हुन सक्ने अनुमान लगाउन सकिन्छ।

आरएसआईका आधारमा

आरएसआई विन्दुअन्र्तगत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन छुट्याइन्छ।   यो कम्पनीको हालको आरएसआई ६० रहेको छ।  अघिल्लोपटक यो न्यून विन्दु ४३ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ८७ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्ने हो भने आगामी दिनमा यदि ६० बाट माथि गएमा बुलिस यात्रा तय हुन सक्ने  छ भने अन्यथा केही समय साइडवेज हुन सक्ने पनि सम्भावना हुन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– ५५९०

प्रतिराध २– ५६६८

प्रतिराध ३– ५८३५

पिभट प्वइन्ट– ५५०१

घटेमा सर्पोट 

सपोर्ट १– ५४२३   

सर्पोट २– ५३३४

सर्पोट ३– ५१६७

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एउटा औजारमा आधारित अनुमानित विश्लेषणमात्र हो। यसर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका हैनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वीकार गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस होइन।