– प्रकाश न्यौपाने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले धमाधम लाभांश कटौती गर्न थालेपछि लघुवित्त संस्थाहरुको सेयरमा लगानीकर्ताहरु सशंकित बनेका छन्। 

राष्ट्र बैंकले गत फागुन १० गते परिपत्र जारी गर्दै लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गरेको छ। त्यसयता राष्ट्र बैंककै निर्देशनमा करिब आधा दर्जन लघुवित्त संस्थाले आर्थिक वर्ष २०७८–७९को लाभांशमा संशोधन गरेका छन्। 

पछिल्लो समय नेष्डो समृद्ध लघुवित्तले बम्पर लाभांश प्रस्ताव गरेको छ। यो लघुवित्तले गत आर्थिक वर्षका लागि ५० प्रतिशत बोनस सेयर र २३.६८ प्रतिशत नगर लाभांश (करसहित) गरी ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको छ। 

फागुन १० गते नेष्डो समृद्ध लघुवित्तको सेयरभाउ प्रतिकित्ता ३१०० रुपैयाँ रहेको थियो। यो लघुवित्तको वित्तीय अवस्था पनि बलियो र राम्रै देखेर लगानी गर्ने लगानीकर्तालाई अहिले निकै ठूलो क्षति पुगेको देखिन्छ। 

राष्ट्र बैंकको परिपत्र आएको करिब डेढ महिनामा यो लघुवित्तको सेयरभाउ करिब १ हजार रुपैयाँले घटेको छ। आज यो लघुवित्तको सेयरभाउ २१४१ रुपैयाँ रहेको छ। 

नेष्डो समृद्ध लघुवित्तमात्रै होइन राष्ट्र बैंकको परिपत्रपछि अधिकांश लघुवित्तको सेयरभाउमा पहिरो गएको छ। 

नेष्डो समृद्ध लघुवित्तका सीईओ विश्वप्रकाश प्रसाईं ठकुरीले आफूहरुले राष्ट्र बैंकले ल्याएको पछिल्लो नीतिअनुसार नै सबै मापदण्ड पूरा गरी लाभांश प्रस्ताव गरेको दाबी गरे। ‘लाभांश प्रस्तावसहितको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरिसकेका छौँ’, उनले भने, ‘तर, राष्ट्र बैंकले स्वीकृति प्रदान गर्न ढिलाइ गरिरहेको छ।’

अहिले लघुवित्तको लाभांश राष्ट्र बैंकबाट भइरहेको कटौतीमा सीईओ ठकुरीले असन्तुष्टि व्यक्ति गरे। ‘राष्ट्र बैंकले फागुन १० मा परिपत्र जारी गर्नुअघि नै कतिपय लघुवित्तहरुले लाभांश प्रस्ताव गरी वार्षिक साधारणसभाबाट अनुमोदन गरिसकेका थिए’, उनले भने, ‘त्यतिबेला केही लघुवित्तको ६५ प्रतिशतसम्म लाभांश स्वीकृत भएको छ। हामीले पनि पछिल्लो परिपत्रअनुसार नै लाभांश प्रस्ताव गरेका छौँ। त्यसैले राष्ट्र बैंकले लघुवित्तबीच नै विदेभ गर्न मिल्दैन।’

राष्ट्र बैंकले आफ्नै नीतिअनुसार प्रस्ताव गरेको लाभांश कटौती गर्न नमिल्ने सीईओ ठकुरीको दाबी छ। ‘यदि राष्ट्र बैंकबाट लाभांश कटौती गर्यो भने कानुनी उपचार खोज्नुपर्छ भन्नेमा केही सेयरधनीहरुको कुरा , त्यो नहोला भन्न पनि सकिन्न’, उनले भने।