काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई बम्पर लाभांश घोषणा गरेका दुई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सोमबार समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जले गत वर्षका लागि ७५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको नेसनल माइक्रोफाइनान्स र २७.११ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो । नेप्सले सेयरमूल्य समायोजन गर्दै नेसनल माइक्रोफाइनान्सको प्रतिकित्ता १०२८.५७ रुपैयाँ र छिमेक लघुवित्तको प्रतिकित्ता ७७३.२९ रुपैयाँ कायम गरेको छ । समायोजित मूल्यअनुसार नै दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ ।

नेसनल माइक्रोफाइनान्सले यही मंसिर २९ गते छैटौँ वार्षिक साधारणसभा गर्दैछ । 

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको ८० प्रतिशत बम्पर लाभांश पारित हुनेछ । जसमा चुक्तापुँजी १५ करोड ८ लाख ८३ हजार रुपैयाँको ७५ प्रतिशतले हुन आउने ११ करोड ३१ लाख ६२ हजार २५० रुपैयाँबराबरको बोनस सेयर (१०:७.५ को अनुपातमा) र ५ प्रतिशतले हुन आउने ७५ लाख ४४ हजार १५० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

साधारणसभा प्रयोजनार्थ संस्थाले मंसिर १६ गतेदेखि मंसिर २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर १५ गतेभित्र कायम सेयरधनीहरुले मात्र संस्थाको बम्पर लाभांशको हकदार बन्न र साधारणसभामा भाग लिन योग्य हुनेछन् ।

बोनस सेयर वितरणपछि पुग्ने संस्थाको चुक्तापुँजी २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँको ५० प्रतिशतले अर्थात २:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

त्यस्तै छिमेक लघुवित्तले पनि यही मंसिर ३० गते १८ औँ वार्षिक साधराणसभा गर्दैछ ।

सभाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ४४.३४ प्रतिशत लाभांश पनि सभाले पारित गर्नेछ । प्रस्तावित लाभांशमा चुक्तापुँजी १ अर्ब १८ करोड रुपैयाँको २७.११ प्रतिशतका दरले हुन आउने ३२ करोड रुपैयाँबराबरको बोनस सेयर र १७.२१ प्रतिशतका दरले हुन आउने २० करोड ३१ लाख ५७ हजार ८९४.७४ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

साधारणसभा तथा लाभांश प्रयोजनार्थ संस्थाले मंसिर १६ गतेदेखि मंसिर ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । अब मंसिर १५ गते संस्थाको सेयरधनी कायम हुनेहरुले मात्र संस्थाको बम्पर लाभांशको हकदार र साधारणसभामा भाग लिन पाउनेछन् ।