काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट बम्पर लाभांश प्रस्ताव गरेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई निर्धन उत्थान लघुवित्तले प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले निर्धन उत्थान लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ७७८.४० रुपैयाँ कायम गरेको छ । अब समायोजित मूल्यअनुसार नै यो संस्थाको सेयर कारोबारमा आउनेछ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयरसँगै १५.५३ प्रतिशत नगद लाभांश (लाभांश कर) पनि प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश आगामी पुस १३ गते हुन गइरहेको संस्थाको २१ औँ वार्षिक साधारणसभाबाट पारित हुनेछ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले आज (मंसिर ३० गते) देखि पुस १३ गतेसम्म बुक क्लोज गरेको छ । यसको अर्थ हिजो आइतबारसम्म कायम सेयरधनीहरुमात्र साधारणसभा र लाभांशका लागि योग्य हुनेछन् ।