काठमाण्डौ । बस्तु बजारको नियमन र विकासका लागि धितोपत्र बोर्डले आवश्यक गृहकार्य सुरु गरिएको जनाएको छ । 

२०६४ सालदेखि नेपालमा बस्तुबजारको कारोवार भइरहेको भएता पनि नियमनको दायरामा आउन नसकिरहेकोमा धितोपत्र बोर्डको प्रयासपछि बस्तु बजार सम्बन्धी विधेयक, २०७४ व्यवस्थापिका संसदबाट पारित भई प्रमाणिकरणको अवस्थामा रहेको छ । यो विधेयकबाट नेपालको बस्तुबजारको नियमनको जिम्मेवारी समेत धितोपत्र बोर्डलाई नै दिइएको छ । 

बोर्डले विधेयकलाई कार्यान्वयनमा ल्याउनुुपूर्व तयारीका लागि बिहीबार हालै पारित भएको विधेयकका मुख्य व्यवस्थाहरु बुझाउन र बस्तुबजार संचालनका आवश्यक कानुनी लगायतका पूर्वाधार सम्बन्धमा हाल संचालनमा रहेका बस्तुबजार व्यवसायीहरुसँग छलफल कार्यक्रम आयोजना गर्यो । सो विधेयकमा रहेका मुख्य व्यवस्थाहरुको बारेमा बोर्डका निर्देशक मुक्तिनाथ श्रेष्ठले प्रकाश पारेका थिए ।

सो कार्यक्रममा उपस्थित बस्तुवजार प्रवद्र्धक तथा संचालक व्यवसायीहरुले व्यवसायीहरुको अधिकार तथा दायित्व, वस्तुबजार, क्लियरिङ्ग हाउस, वेयरहाउस लगायतका पूर्वाधारहरुका सन्दर्भमा बोर्डले तयार गर्न लागेको नियमावली,रु.५० करोडको न्यूनतम चुक्तापँुजी र संचालकको योग्यता सम्बन्धी व्यवस्थाले केही कठिनाई आउनसक्ने आशंका व्यक्त गरेका थिए । 

छलफलमा उठेका जिज्ञासा मेट्दै बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले लामो र अथकप्रयास पश्चात बस्तुबजार विधेयक पारित भएकोे उल्लेख गर्दै यो केवल शुरुवात मात्र भएको र नियमनको दायरामा नभएको बजार अब नियमनमा ल्याई विकास गर्दै आवश्यक सुधारहरु समयानुकुल गर्नुपर्नेमा जोड दिए । सहभागीहरुको व्यवसायिक तथा स्वच्छ एवं पारदर्शी गतिविधिहरुबाट मात्र यस बजारले देशको अर्थतन्त्रको विकास विस्तार तथा गतिशिलतामा योगदान दिनसक्ने भएकोले स्वनियमनलाई बढावा दिदै आफ्ना बजार सम्बन्धी गतिविधिहरुलाई अगाडि बढाउनु पर्नेमा उनको जोड थियो । 

बजार नियमनका लागि सबै पक्षको समन्वय र सकारात्मक सहयोग अपेक्षा गर्दै बोर्डका कार्यकारी निर्देशक निरज गिरीले सेयर बजारभन्दा फरक प्रकृतिको भएकोले वस्तुबजारको सोही रुपमा विकास गरिदै लगिने बताए । 

बोर्डका निर्देशक डा.नवराजअधिकारीले विशेष प्रकृतिको कमोडिटी डेरिभेटिभ्स् बजारको नियमन तथा विकासको चूनौतिसंगसंगै बोर्डलाई अवसर पनि प्राप्त भएकोले प्रारम्भिक चरणदेखि नै सशक्त रुपमा अगाडि बढाइएमा देशको आर्थिक बृद्धिमा महत्वपूर्ण योगदान पुग्ने दाबी गरे ।