काठमाण्डौ । गत दुई दिनमै रोजगारका सिलसिलामा बहराइनमा रहेको थप ३१ नेपाली कामदारमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार गत बुधबार र बिहीबारमात्र थप ३१ नेपाली कामदारमा कोरोना पोजेटिभ देखिएको हो। यसअघि गत मंगलबार पनि एकैपटक बहराइनमा रहेका ७७ नेपाली कामदारमा कोरोना पोजेटिभ देखिएको थियो।

योसँगै बहराइनमा रहेका १५७ जना नेपालीमा कोरोना पोजेटिभ देखिएको छ। 

बहराइनमा हालसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ। हालसम्म १ हजार ५३४ जना संक्रमित उपचारमा छन्। तीमध्ये १ हजार ४९४ जना उपचारपछि निको भएर फर्किसकेका छन्। 

बहराइनमा करिब ३५ हजार नेपाली कार्यरत रहेको अनुमान छ। 

नेपाली दूतावासले नेपाली कामदारहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन र दूरी कायम राख्न आग्रह गरेको छ। दूतावासले बहराइन सरकारलाई पनि नेपाली कामदारहरु बसोबास गर्ने स्थानमा भीडभाड धेरै हुने भएकोले सामाजिक दूरी कायम हुने गरी बासस्थानको व्यवस्था मिलाउन आग्रह गरिसकेको छ।