बर्दीबास(महोत्तरी) । मुहर बस्ती बनाउन धुर्मुस(सिताराम कट्टेल) महोत्तरीको बर्दिबास आएका छन् । 

उनी आउने खबरले मुसहर बस्तीकी एकसय पाँच बर्षीया मरनी सादा मंगलबार विहानैदेखि खुशी थिइन । बिहानैदेखि उनी बाटो कुरेर बसेकी थिइन् । धुर्मुस आएपछि हातको माला लगाइदिंदै उनले हर्षका आँसुु बगाइन । 

मरनी  बर्पौंदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छिन् । कठ्यांग्रिदो जाडोमा भूइमै पराल ओछ्याएर र बोरा ओढेर रात काट्दै आएकी उनले धुर्मुशलाई भेटेपछि निकै खुशी हुदैं भनिन्, ‘हाम्रो त जीवनै बरबाद भएको थियो । घर बनाइदिन भगवान आउनुुभएछ, तपाईंको भलो मात्र होस् ।

मंगलबार बिहानैदेखि मुसहर बस्ती बनाउन धुर्मुस मुसहर बस्ती आउने खबरले बर्दिबासका मुसहर बस्तीका स्थानीयहरु उनी आउने बाटो कुरिरहेका थिए । एकाबिहानै दाउरा लिन जंगल पुग्ने मुसहरहरु मंगलबार धुर्मुसको स्वागत्मा जुटे । कोही छिमेकीको आँगनबाट फूल टिपेर ल्याए । कसैले माला उने । कोही चाहि बस्ती सरसफाइमा जुटे । कोही ‘धुर्मुस सर हजुर कता आइपुग्नु भयो ’ भनेर बस्तीका अगुवा मञ्जय सदाले सूचना संकलन गरेर बस्तीका स्थानीयलाई जानकारी गराइरहेका थिए  ।

धुुर्मुसको प्रतिक्षामा बसेका मुसहरहरुको सामुन्ने हास्यकालाकार तथा समाजसेवी धुर्मुस पुगेपछि उनीहरु खुशीले गद गद देखिन्थे । मुसहर बस्तीको माहौल रोमाञ्चक बन्यो । मुसहरहरुले खुशी भएर धुर्मुसको गलादेखि शिरसम्म माला लगाई दिए । निदारमा टलक टल्किने रातो र पहिलो अक्षता लगाइदिए । धुर्मुस—सुन्तलीको पहलमा बस्ती भित्र तीन पुस्तापछि पानी पुगेको भन्दै स्वागतमा विशेष रुपमा धाराबाट अमखोरामा ल्याइएको पानी खुवाएर खुशियाली साटिएको थियो । 
 
धुर्मुशलाई मुसहरहरुले घर घरमा घुमाए ।  धुुमुर्स—सुन्तलीले मुसहरको घर बनाइदिने घोषणा गरेपछि बर्दिबासका ५० घरधुरीका दुईसय सत्तरी जना मुसहरमा खुशियाली छाएको छ । धुर्मुस—सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) बस्तीको पहिलो चरणको निर्माण कामका लागि काठमाण्डौंबाट बर्दिबास आएका छन् ।

स्थानीयको स्वागत्ले आफूहरुलाई काम गर्न हौसला बढाएको धुर्मुसले बताए । ‘मुसहर बस्तीबाट मानवता र सद्भावका लागि सहकार्य गर्दै विकासका लागि मूूल फुटाउन खोजेका हौं । मुसहर बस्तीबाट देशभर नै समानता र सद्भावको सन्देश जानेछ  ।’ उनले भने, ‘हामी सबैले आ आफ्नो ठाउँबाट जागेमा देश बन्न कत्ति पनि बेर लाग्दैन ।’

मंलबारै धुर्मुसले स्थानीय राजनीतिक दलका नेताहरुसंग मुसहर बस्ती निर्माण सम्बन्धमा अन्तरक्रिया तथा सार्वजनिक सुनवाई गरे । स्थानीय राजनीतिक दलले मुसहर बस्तीको मुहार फेर्न भारी बोक्न तयार भएको सामूूहिक रुपमा प्रतिबद्धता समेत व्यक्त गरेका थिए । 

चार करोंड अठत्तर लाखको लागतमा मुसहर बस्ती निर्माण कार्य हुदैंछ । मुसहरहरुलाई नयाँ बर्षमा नयाँ घर उपहार स्वरुप दिने योजनासहित धुर्मुस—सुन्तली फाउण्डेसनले काम थालनी गरेको बताइएको छ ।