काठमाण्डौ । काठमाण्डौको बागबजारस्थित हार्दिक होटल आसपासको क्षेत्र शिल गर्ने तयारी गरिएको छ । 

सोही क्षेत्रको एक छापाखानाका कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्र शिल गरी व्यापक स्तरमा परीक्षणको काम गर्न लागिएको हो । 

मंगलबार काठमाण्डौ उपत्यकामा ५ जना संक्रमित थप भएका थिए । तीमध्ये १ जना भक्तपुर र १ जना ललितपुरका रहेका थिए भने बाँकी ३ जना काठमाण्डौ जिल्लाका थिए । ती तीनमध्ये एकजना बागबजारस्थित छापाखानामा काम गर्ने कामदार रहेका खुलेको हो । 

स्थानीय जनप्रतिनिधिहरुका अनुसार ती कामदार काठमाण्डौ महानगरपालिका २८ को बागबजार बुद्धबिहार पछाडि बस्ने गर्दथे । सो क्षेत्रलाई पनि शिल गर्ने तयारी भइरहेको छ । 

छापाखानामा काम गर्दै आएका ती कामदार नेपालमा लकडाउन सुरु भए लगत्तै भैरहवास्थित घर गएका थिए । तर, लकडाउन केही खुकुलो भएपछि अब बजार खुल्ने भन्दै मालिकले बोलाएर काठमाण्डौ फर्किएका थिए । उनमा भैरहवाबाटै कोरोना संक्रमण भएको थियो या काठमाण्डौमा आएर भयो भन्ने बिषयमा विज्ञहरुले अनुसन्धान थालेका छन् । 

काठमाण्डौ आएर पनि छापाखानाको काम भएको र उनी दैनिकजसो काममा जाने गरेका थिए । 

हाल उनलाई आइसोलेसनमा राखिसकिएको छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।