काठमाण्डौ । बेल्जियमबाट कतार हुँदै काठमाण्डौ, त्यहाँबाट पोखरा हुँदै बागलुङस्थित घर पुगेको केही दिनपछि कोरोना संक्रमण पुष्टि भएकी ६५ बर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
उनलाई आइतबार मात्र डिस्चार्ज दिने बताइएको थियो । तर, चौथो नमूना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको र अवस्था सामान्य रहेको भन्दै धौलागिरी अञ्चल अस्पतालले उनलाई शनिवार साँझ नै डिस्चार्ज गरिदिएको हो ।
योसहित अब नेपालमा निको भएर घर फर्किने कोरोना संक्रमितको संख्या ३ पुगेको छ । शनिवार दिउँसो मात्र टेकूबाट दोश्रो कोरोना संक्रमित युवतीलाई डिस्चार्ज गरिएको छ ।
बागलुङकी ती महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि सो अस्पतालमा चैत १९ गते भर्ना गरिएको थियो । त्यहाँ उनले करिब तीन साता आइसोलेसनमा बिताएकी हुन् ।
बागलुङ नगरपालिका ३ गौंडाकोटकी स्थायीबासी यी महिलाले कोरोनामाथि हासिल गरेको जित यसकारण पनि चिकित्सकले विशेष मानेका छन् कि, यी महिला मधुमेह र उच्च रक्तचापको बिरामी थिइन् । उनले नियमित औषधि सेवन गर्दै आएकी थिइन् । यस्ता दीर्घरोगीहरु कोरोना संक्रमणबाट उम्किन गाह्रो पर्ने यूरोप तथा अमेरिकाको भन्दा फरक यी महिलाले कोरोनामाथि जित हासिल गरेकी उनको उपचारमा खटिएका चिकित्सकहरुले दाबी गरेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले औषधि नै नभएको संक्रमणबाट ती महिलाले आफूलाई बचाएकी उल्लेख गर्दै यसबाट नेपालमा कोरोना संक्रमित निको हुन्छन् भन्ने मान्यता स्थापित भएको बताए । उनले ती महिलाको बलियो आत्मबलले समेत रोगसँग लड्न सहयोग गरेको दाबी गरे ।
गत चैत ४ गते उनी बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन्। उनी बेल्जियममा रहेका छोरीज्वाई भेट्न गएकी थिइन् । कतारदेखि काठमाडौं र काठमाडौंदेखि पोखरा हुँदै बागलुङस्थित घर आउने बेलासम्म नेपालकै पाँचौ संक्रमित १९ बर्षकी युवती र उनी सँगै थिए। ती युवती पनि धौलागिरी अञ्चल अस्पतालमै उपचार गराइरहेकी छिन्। ती युवतीको चौथो पटकसम्मको स्वाब परीक्षण भने पोजेटिभ आएको छ। तर, डा. पोखरेलले भने ती युवतीको अवस्था सामान्य रहेकोले चाँडै अर्को गुड न्यूज आउने दाबी गरेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago