market correction
काठमाण्डौ । वाणिज्य बैंक तथा अन्य ठूला कम्पनीहरुले आर्थिक वर्ष २०७२ ७३ को नाफाबाट लाभांश घोषणा गरेपछि त्यस्ता कम्पनीको सेयर बिक्री गरी प्रोफिट बुक गर्ने बाठा लगानीकर्ताको रणनीतिले बुलिस बजारमा मंगलबार ब्याक गियर लागेको छ ।
छोटो अवधिका लागि सेयर किनेर नाफा भएपछि बिक्री गर्ने लगानीकर्ताहरुको बिक्री चापका कारण बजारमा ब्याक गियर लागेको हो ।
यही कारण गत सातादेखि नै बुलिस टेण्डमा कुदिरहेको पूँजीबजार मंगलबार भने ४.१ अंकको गिरावट भई १८३४.८० मा झर्यो । यो दिन अधिकांश समूहको परिसूचकमा रातो पोतियो । गत सातादेखि नै बजारलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेल्दै आएका बित्तीय समूहहरुमै मंगलबार गिरावट देखिएको हो ।
सबैभन्दा बढी होटल समूह घट्यो । यो समूहको परिसूचकमा करिब ४ प्रतिशत अर्थात ७८.९३ अंकको गिरावट देखियो ।
बिमा समूह ४७.४२ अंकले घट्दा वाणिज्य बैंक समूह २.४२ अंकले ओरालो लाग्यो । उत्पादनमूलक १५.८२, विकास बैंक ३.५५ र अन्य समूहमा २.३२ अंकको गिरावट भयो । सबैभन्दा धेरै जलविद्युत समूह १६.४४ अंकले उक्लियो भने बित्त समूह अन्तिम अवस्थामा आएर २.६२ अंकले बढ्यो ।
मंगलबार कारोबार रकम केही कम भयो । कुल १ सय ४१ कम्पनीका २२ लाख ६० हजार ९ सय ४३ कित्ता सेयर १ अर्ब ८१ करोड ४० लाखमा खरीदबिक्री भयो ।
धेरै कारोबार गर्नेहरु
मंगलबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ९ स्थान वाणिज्य बैंकले नै कब्जा गरे भने एक स्थानमा बिमा कम्पनीको प्रवेश भयो । सबैभन्दा धेरै सनराइज बैंकको १५ करोडको सेयर किनबेच भयो ।
नेपाल बंगलादेश बैंकको १२ करोड ७१ लाख, एभरेष्ट बैंकको १० करोड ६३ लाख, सेञ्चुरी कमर्सियल बैंकको ९ करोड ४३ लाख, सिद्धार्थ बैंकको ८ करोड ८२ लाख, एनएमबी बैंकको ६ करोड ९६ लाखको सेयर किनबेच भयो । यसैगरी, ग्लोबल आइएमई बैंकको ५ करोड ५६ लाख, माछापुच्छे बैंकको ४ करोड ८९ लाख, एनआइसी एशिया बैंकको ४ करोड ४६ लाखको कारोबार भयो । लुम्बिनी जनरल इन्स्योरेन्सले ४ करोड ३७ लाखको कारोबार गर्यो ।
धेरै कमाउने र गुमाउनेहरु
ठूलो मात्रामा हकप्रद दिने घोषणा गरेको राप्तिभेरी विकास बैंकका लगानीकर्ताले मंगलबार धेरै कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । रिदी हाइडोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा बढ्यो भने सांग्रिला डेभलपमेन्ट बैंकको सयर मूल्य पनि करिब ७ प्रतिशतले बढ्यो । हाम्रो विकास बैंक र कसमस डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि कमाए ।
मंगलबार एक कम्पनीले ५ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाउनुपरा्यो भने बाँकी ४ कम्पनीको सेयर मूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आयो । सोल्टी होटलको सेयर मूल्य ५ प्रतिशतले घट्यो । यसैगरी, बोटलर्स नेपाल(तराई) लिमीटेड, सगरमाथा इन्स्योरेन्स, किसान माइक्रोफाइनान्स र मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आयो ।
‘टर्नओभर मेन्टेन भएको छ, नअत्तालिनु !’
प्रोफिट बुकिङतर्फ नै लगानीकर्ता लागेका कारण बुलिस बजारमा ब्याक गियर लागेको प्रष्ट पार्दै सेयर विश्लेषक अञ्जनराज पौडेलले इण्डेक्स घटे पनि कारोबार रकममा खासै गिरावट नआएकोले आगामी दिनमा बजार थप नघट्ने दाबी गरे । 'मंगलबारको करेक्सन बजारको स्वभाविक प्रवृति हो ।' उनले भने-'इण्डेक्ससँगै टर्नओभर पनि घट्यो भने बजार अझ घट्ने डर हुन्छ, तर मंगलबार टर्नओभर खासै घटेको छैन, त्यसकारण फेरि घट्न थाल्छ किन भनेर नआत्तिलनु नै हितकर हुन्छ ।'
उनका अनुसार इण्डेक्स घटे पनि टर्नओभरमा खासै ठूलो करेक्सन नदेखिनुले सेयर खरीद गर्न चाहनेहरुले मूल्य घटाएरै लिन खोजिरहेका छन् भन्ने पनि देखिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago