काठमाण्डौ । भारी वर्षापछि आएको बाढीको गेग्रान र लेदोले पुरेको बस्ती खोतल्दा १ करोड ६५ लाख रुपैयाँ बढी नगद फेला परेको छ। 

यो घटना हिमापारिको जिल्ला मुस्ताङको हो। त्यहाँको पर्यटकीय क्षेत्र कागबेनी केही दिनअघिको भारी वर्षापछि पहिरिएको गेग्रान र लेदोले बस्तीका केही घर पुरेको थियो। उद्धारकर्ताले स्काभेटरको सहायतामा पुरेका घर उत्खनन गर्दा कागबेनीमा रहेको प्रभु बैंक शाखाको ६५ लाखभन्दा बढी र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक शाखाको १ करोड ५ लाख ३२ हजार ९६४ रुपैयाँ नगद भेटिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। 

गत साउन २८ गते राति थोरङ्लापास र मुक्तिनाथ क्षेत्रमा भारी वर्षा भएको थियो। त्यसपछि कागखोलामा आएको बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बस्ती पुरिएको थियो।

कागवेनीका २९ वटा घर, ४ नम्बर वडा कार्यालय, इलाका प्रहरी चौकी पूर्ण रुपमा क्षति पुगेको थियो।