काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म झन्डै २७ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

बाराही हाइड्रोपावरको आईपीओमा आज मंसिर २६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनी गत मंसिर २१ गतेदेखि सर्वसाधारणका लागि १०० अंकित दरका कुल ५ लाख ५४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको आईपीओमा बिक्री हुन बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर पनि समावेश गरिएको थियो।

कुल कित्तामध्ये मध्ये ५ प्रतिशतले हुन आउने २७ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ५ लाख १५ हजार २२० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

सीडीएससीका अनुसार आज अपराह्न सवा ४ बजेसम्म यो आईपीओमा १२ लाख १६ हजार १५३ आवेदकबाट कुल १ करोड ३८ लाख ७१ हजार २२० कित्ताका लागि आवेदन परेको छ। जुन मागभन्दा २६.९२ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार गोलप्रथाबाट भाग्यमानी ५१ हजार ५२२ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। 

यो आईपीओको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।