काठमाण्डौ । दसैँ भन्नेबित्तिकै सबैलाई झट्ट याद आउने विषय हो, घुमघाम तथा पारिवारिक तथा साथीभाइ भेट्घाट। दसैँमा कामविशेषले विदेशिएका परदेशीदेखि राजधानी र देशका विभिन्न ठाउँमा काम तथा व्यापार–व्यवसाय गर्नेहरु मूल थलो फर्किने नेपालीको परम्परा रहेको छ। 

यो पटकको दसैँले पनि ढपक्क ढाकिसेकेको छ। विदेश गएकाहरु लामो छुट्टी लिएर फर्किंदैछन्। स्वदेशमा पनि दसैँको चहलपहल बढेको छ। आज दसैँको अष्टमी पनि हो।

सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्य पनि यसपालिको दसैँ मनाउन जन्मथलो इलाम फर्किएका छन्। फूलपातीदेखि नै उनी गाउँघर साथीभाइ र आफन्तसँग भेटघाटमा मस्त छन्। 

आचार्यको अनुभवमा अहिले दसैँको बेला पहिलेजस्तो रमाइलो वातावरण देखिँदैन। उनी भन्छन्, ‘पहिले दसैँमा रोटे पिङ र लिंगे पिङ  खेल्न चलन थियो। तर, अहिले त्यस्तो छैन।’

विशेषगरी दसैँ बालापनमै रमाइलो हुने गरेको आचार्यको अनुभव छ। अहिले जिम्मेवारी बढ्दै जाँदा दसैँ पनि फरक हुने उनको भनाइ छ। 

आचार्यले इलामको मंगलबारे भानुभक्त स्कुलमा पढेका थिए। यहाँ दसैँमा विभिन्न खेलकुद हुने हुँदा हरेक दसैँमा खेल हेरेर उनी मनाउने गर्छन्।  

यसपालिको दसैँ पनि खेल हेरेर मनाउने आचार्यको योजना छ। ‘यसपालि पनि दसैँमा ठूलाबडाका हातबाट टीका तथा जमारा थापेर मनाउने योजना छ’, उनले भने। 

लगानीकर्ता तथा साथीभाइलाई दसैंको शुभकामना दिँदै अचार्य आफ्नो गक्ष्यअनुसार दसैँ मनाउन सुझाव दिन्छन्। दसैँपछि अहिले घटेको बजारले लय समात्ने आशा गर्दै लगानीकर्तालाई हाँसी–खुसी दसैँ मनाउन उनले सुझाव दिए।