काठमाण्डौ। आजियाटा ग्रूपले दूरसञ्चार सेवा प्रदायक एनसेलबाट बाहिरिने घोषणा गरेको छ।

व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने तयारी गरेको स्रोतले बताएको छ । एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीमा मलेसशयाको आजियाटा ग्रूप बरहदको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।

यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो। त्यसबेला आजियाटाले सेयर किनेको थियो।

सेयर किनेको ७ वर्षपछि उक्त कम्पनी  बाहिरिने तयारी गरेको छ । 
कम्पनीको व्यापार लगातार खुम्चिंदै गएको छ । सन् २०२२/२३ मा एनसेलको व्यापार ३७ अर्ब ४४ करोड थियो।

कम्पनीले २०२१/२२ मा ३९ अर्ब ७२ करोड, २०२०/२१ मा ४० अर्ब ४२ करोड र २०१९/२० मा ४६ करोड ८७ लाख रुपैयाँको कारोबार गरेको थियो। 

आजियाटालाई १ अर्ब ३० करोड मलेशियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ ।

आजियाटा ग्रूपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालबाट बाहिरिने निर्णय गरेको उल्लेख गरेका छन् ।  विज्ञप्तिमा उनले नेपालमा बढ्दो चुनौतीबीच सञ्चालक समितिले एनसेलबाट बाहिरिने र कम्पनी बिक्रीमा राख्ने निर्णय भएको समेत उल्लेख गरेका छन् ।

आजियाटा ग्रूप मलेशियाको बहुराष्ट्रिय प्रविधि कम्पनी हो ।