काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले ब्रोकरहरुलाई आफ्ना ग्राहकको सेयर बिक्री गर्दा समेत अग्रीम पैसा लिएको भन्दै त्यसो नगर्न निर्देशन दिएको छ । 

नेप्सेको सुपरीवेक्षण शाखाले माघ १५ गते दलाल व्यवसायी(सेयर ब्रोकर)हरुलाई एक लिखित निर्देशन पठाउँदै त्यस्तो आग्रह गरेको हो । 

धितोपत्र कारोबार संचालन विनियमावली, २०७५ को विनियम ८(१)मा कारोबार सदस्यले खरीद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रीम रुपमा लिनुपर्नेछ भनिएको छ । 

तर, कतिपय ब्रोकरहरुले त्यस्तो अग्रीम रकम बिक्री कारोबारका लागि समेत मागेका गुनासो आएपछि नेप्सेले निर्देशन जारी गर्नुपरेको प्रष्ट पारिएको छ । 

नेप्सेले स्पष्ट रुपमा बिक्री कारोबारका लागि त्यसरी अग्रीम रकम लिन नपाइने भन्दै सो काम गरिरहेका ब्रोकरहरुलाई तत्काल रोक्न आग्रह समेत गरेको छ ।