– अर्जुन तिमिल्सिना

काठमाण्डौ । धितोपत्र कारोबारमा अल अर नन (एओएन) अर्थात ‘कि सबै देऊ कि त दिँदै नदेऊ’ बिक्रीतर्फ पनि व्यापक दुरुपयोग भएको पाइएको छ। 

केही समयपहिला नेपाल धितोपत्र बोर्डले खरिदतर्फ अनावश्यक माग सिर्जना गरेर मूल्य बढाउन चलखेल गरेको आंशकामा खरिदतर्फको एओएन सुविधा हटाएको थियो। तर बिक्रीतर्फ नभएको सेयर राख्न नसक्ने तथा सिस्टमले नै रोक्ने भन्दै धितोपत्र बोर्डले बिक्रीतर्फको यो सुविधा हटाएको छैन। बिक्रीतर्फको एओएन सुविधा नहटाइए पनि यही सुविधाको दुरुपयोग गर्दै केही लगानीकर्ताले सेयरमूल्यमा प्रभाव पार्ने चलखेललाई निरन्तरता दिइरहेको पाइएको छ। 

आजको कारोबार पनि यो सुविधाको प्रयोग गर्दै २ जनाले झन्डै २ लाख कित्ता बिक्रीतर्फ पोस्ट गरेका छन्। सुरुआतमा २ जना ४४२ रुपैयाँ १ लाख ९१ हजार कित्ता बिक्रीतर्फ पोस्ट गरेकोमा अहिले मूल्य बढाउँदै ४४९ रुपैयाँमा बिक्रीतर्फ पोस्ट गरिएको छ। ‘यदि बेच्ने नै नियत थियो भने त ४४२ रुपैयाँमै बेच्थे होला नि’, लगानीकर्ता संयोग शर्माले भने, ‘किन यो सुविधाको प्रयोग गर्दै मूल्य लगिएको हो ? यसमा पक्कै चलखेल भइरहेको छ।’

लगानीकर्ता शर्माले मार्केट डेप्थ देखाउँदै भने, ‘एकैपटक २ जनाले २ लाखबरारबर कित्ता सेयर बिक्री राख्नु अनि मूल्य परिवर्तन गर्दै बेच्न पनि नचाहनु भनेको बजारलाई प्रभाव पार्ने रणनीति रहेको देखिन्छ।’ 

यस्ता चलखेलमा नियामक निकाय चनाखो हुपर्ने शर्माको सुझाव छ। ‘कुन ब्रोकरबाट कसले किन यसरी एकैपल्ट यत्रो अर्डर राखिएको हो ? यो विषयमा नियामकले अनुसन्धान गर्नुपर्छ’, उनले भने। 

शर्माले नियामक निकायले लाइभ मार्केट हेरेर कुनै सुपरिवेक्षण गर्न नसकेको पनि आरोप लगाए । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सुपरिवेक्षण विभागका एक अधिकारीले एचआईडीसीएल उक्त २ जनाको बिक्री पोस्टमा एओएन सुविधा प्रयोग भएको पुष्टि गरे। सेयर बिक्रीतर्फ कति कित्तासम्म राख्न पाइने भन्ने सीमा नतोकिए पनि बिक्रीतर्फको एओएन सुविधाको दुरुपयोग गर्न खोजिएजस्तो देखिएको ती अधिकारीले बताए। उनले भने, ‘हामीले अध्ययन सुरु गरेका छौँ।’