काठमाण्डौ । दिनप्रतिदिन समस्याको भूंग्रोमा पर्दै गएको अर्थतन्त्रलाई त्राण दिन सरकारले अर्थसचिव परिवर्तन गर्ने तयारी गरेको छ । 

अर्थसचिवसहित केही सहसचिव समेत परिवर्तन गरी  नयाँ टिम बनाउने र समस्याग्रस्त अर्थतन्त्रलाई त्राण दिने सबै खालका विकल्पहरुमा जाने गरी सरकारले आवश्यक तयारी थालेको हो । 

यो तयारी स्वरुप सरकारले अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवबाट हटाउने भएको छ । पोखरेलको ठाउँमा अर्थसचिवको रुपमा कृष्णहरि पुस्करलाई पुनः अर्थमा तान्ने निर्णय भइसकेको स्रोतले बताएको छ । कृष्णहरि पुस्करलाई अर्थसचिवको रुपमा ल्याउने निर्णय भदौ २९ गते बसेको मन्त्रीपरिषद बैठकबाट भइसकेको स्रोत दाबी गर्छ । तर, सरकारले यो निर्णय औपचारिक रुपमा हालसम्म सार्वजनिक गरिसकेको छैन । 

कृष्णहरि पुस्कर हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको रुपमा कार्यरत छन् । पुस्कार यसअघि समेत अर्थसचिव भइसकेका व्यक्ति हुन् । तर, उनको कार्यकाल खासै सफल भने हुन सकेको थिएन । तर, समस्यामा परेको अर्थतन्त्र सम्हाल्ने जिम्मेवारीसहित पुनः पुस्करलाई नै अर्थसचिवमा ल्याउने तयारी गरिएको हो । 

हाल अर्थसचिवको रुपमा कार्यरत अर्जुनप्रसाद पोखरेललाई सरकारले बैशाख २०, २०८० मा नियुक्त गरेको थियो । पोखरेल तोयम रायलाई विस्थापन गर्दै अर्थसचिव बनेका थिए । 

रायलाई पनि ६ महिनामै अर्थमन्त्रालयबाट सरुवा गरिएको थियो । पोखरेललाई पनि प्रचण्ड नेतृत्वको सरकारले ४ महिनामै सरुवा गर्न लागेको हो । 

तोयम रायअघि अर्थसचिवको रुपमा कृष्णहरि पुस्कर नै रहेका थिए । पुस्कर यसअघि २०७९ साउनमा अर्थसचिव बनेका थिए । उनलाई पनि ५ महिनामै अर्थमन्त्रालयबाट सरुवा गरिएको थियो । 

प्रधानमन्त्री कार्यालयस्थित उच्च स्रोतका अनुसार अर्थमन्त्रालयमा पुनः कृष्णहरि पुस्करकै कमब्याक हुने र उनीसँगै २-३ जना सहसचिव समेत नयाँ आउनेछन् । 'अर्थमन्त्रालयको मुख्य टिम नै परिवर्तन गर्न लागिएको हो '-स्रोतले भन्यो ।