काठमाण्डौ । भनिन्छ कि बचत नै आम्दानीको सबैभन्दा उत्तम बाटो हो । आज हामी तपाईंलाई बचतको केही यस्ता अनौठा तरिकाहरुबारे जानकारी दिन गइरहेका छौ, जसको मद्धतबाट तपाईंले आफ्नो आम्दानी बढाउन सक्नुहुनेछ ।

रोचक कुरा त यो छ कि यसका लागि तपाईंले मौजुद आफ्ना सुविधाहरुमा कुनै कटौति समेत गर्नुपर्ने छैन । मात्र तपाईंले आफ्नो घर वा आदतमा सानोतिनो परिवर्तन गर्नुपर्ने हुन्छ । यसबाट तपाईंले प्रत्येक वर्ष हजारौं रुपैयाँ बचत गर्न सक्नुहुनेछ । हामी तपाईंलाई आज घर र बानी व्यहोरामा परिवर्तन गरी हजारौं रुपैयाँ बचत गर्ने यस्तै १० टिप्स दिन गइरहेका छौ । यसको मद्धतबाट तपाईंले एक वर्षमा १ लाख रुपैयाँसम्मको बचत गर्न सक्नुहुन्छ । 

टिप्स १ : पर्खालबाट २ इञ्च पर राख्नुहोस् फ्रिज
आफ्नो घरको फ्रिजलाई पर्खालबाट २ इञ्च पर राख्ने गर्नुहोस् । यसले फ्रिजलाई पूरा रुपमा एयर सर्कुलेसन प्राप्त हुन्छ र यसबाट बिजुलीको प्रयोग ४० प्रतिशतसम्म कम हुनेछ । 

यसरी हिसाब गर्दा फ्रिज राख्ने शैलीमा सुधारेर तपाईंले मासिक करिब १६ सय रुपैयाँको बिजुलीको बिल बचाउन सक्नुहुनेछ । 

अनुमानित रुपमा १६५ लिटरको नयाँ फाइभ स्टार फ्रिजले एक वर्षमा ४ सय युनिट बिजुली खपत गर्छ । यो हिसाबबाट हेरियो भने प्रत्येक वर्ष करिब ४ हजार रुपैयाँको बिल आउँछ । यो टेक्निक अपनाएपछि तपाईंले हरेक वर्ष १६ सय रुपैयाँ बचाउन सक्नुहुनेछ । 

टिप्स २ : कारमा धेरै सामान नराख्नुहोस्
तपाईंले कारमा ४५ केजी भन्दा बढी सामान राख्नुभयो भने इन्धनको खपत २ प्रतिशतले बढ्नेछ । मानौ कि एक व्यक्तिले प्रत्येक महिना इन्धनका लागि ९ हजार रुपैयाँ खर्च गर्छ । यो हिसाबले हेर्ने हो भने एकवर्षको इन्धनतर्फको खर्च १ लाख ८ हजार रुपैयाँ हुन आउँछ । यो टेक्निक अपनाएपछि तपार्इंले इन्धनमा २ प्रतिशतको बचत गर्नसक्नुहुन्छ । यसको अर्थ तपाईंको बार्षिक रुपमा २१ सय ६० रुपैयाँ बचत हुन आउँछ । 

टिप्स ३ : बिजुलीका सामान बन्द गर्दा रिमोट कन्ट्रोलले होइन, पावर बटन नै अफ गर्नुहोस्
रिमोटबाट बिजुलीको सामान बन्द गरे पनि त्यो आधाउधी चलिरहन्छ । यसले करिब १० प्रतिशत अतिरिक्त बिजुलीको खर्च हुन्छ । 

हिजोआज धेरैभन्दा धेरै मानिस टिभी, पंखा, एसी जस्ता होम अप्लाइन्सेज रिमोटबाट बन्द गर्ने गर्छन् । शहरी क्षेत्रमा एउटा परिवारको बिजुलीको बिल(सबै घरायसी सामान उपयोग गर्दा) करिब ४ हजार रुपैयाँसम्म आउनसक्छ । यदि यस्तो तरिका अपनाउनुभयो भने १० प्रतिशत बिजुली बचाउन सक्नुहुन्छ, यसको अर्थ तपाईले हरेक महिना ४ सय रुपैयाँ बचत गर्नुभयो । यो हिसाबले वार्षिक रुपमा यो टिप्सको उपयोगमार्फत तपाईले करिब ५ हजार रुपैयाँ बचत गर्न सक्नुहुनेछ । 

टिप्स ४ : आफ्नो एसीको तापक्रम २४–२५ डिग्री सेल्यिसमै सीमित गर्नुहोस्
आफ्नो एसीको तापक्रम २४–२५ डिग्री सेल्सियसमै सीमित राख्ने गर्नुभयो भने यसबाट तपाईंले २० प्रतिशतसम्म बिजुलीको खपत घटाउन सक्नुहुनेछ । एक अनुमानअनुसार एक परिवारले वार्षिक रुपमा एसी प्रयोग गर्दा ४० हजार रुपैयाँ खर्च गर्छ, यदि बाहिरको तापमान ४२ डिग्री छ भने । यति धेरै तापक्रम नेपालका केही ठाउँमा मात्र हुन्छ, त्यो पनि गर्मीको बेला । यस्तो अवस्थामा एसीको प्रयोग गर्दा तापक्रम २४ देखि २५ डिग्री सेल्सियस मात्र राख्नुहोस्, यसबाट २० प्रतिशतसम्म बिजुलीको खपत जोगाउन सकिन्छ । यसको मतलब हो एकवर्षमा यो टिप्सलाई फलो गरेर ८ हजार रुपैयाँ बचत गर्न सकिन्छ । 

टिप्स ५ : खाना पकाउने क्रममा ग्यासको आगो केही कम गर्नुहोस्
खाना पकाउन सुरु भएपछि आगो(ज्वाला) केही कम गर्नुहोस् । यसबाट खाना डढ्नबाट बच्छ र १० प्रतिशतसम्म उर्जाको बचत हुन्छ । 

अनुमानित एक परिवारले प्रत्येक महिना १४.२ किलो एलपीजी ग्यास प्रयोग गर्छ । १४ सय रुपैयाँले हिसाब गर्दा सो परिवारलाई वार्षिक १६ हजार ८ सय रुपैयाँको ग्यास चाहिन्छ । यो टेक्निक अपनाएर यदि १० प्रतिशत नै उर्जा बचत भयो भने पनि तपाईंले वार्षिक रुपमा १६ सय ८० रुपैयाँ बचाउन सक्नुहुनेछ । 

टिप्स ६ : साधारणको ठाउँमा घरमा एलइडी बल्ब लगाउनुहोस्
घरमा सामान्यको ठाउँमा एलइडी बल्ब लगाउनुहोस् । यस्तो बल्बबाट बिजुलीको ८० प्रतिशतसम्म बचत हुन्छ र उज्यालो समेत यस्तै बल्बबाट राम्रो प्राप्त हुन्छ । 

मानौ कि घरमा ६० वाटको १० बल्ब लगाइएको छ र यी बल्बहरुलाई दैनिक १० घण्टासम्म चालु राखिन्छ । यो हिसाबबाट यिनीहरुले प्रतिघण्टा ०.६ वाट बिजुली खपत गर्छन । जो दिनभरमा करिब ६ युनिट हुन आउँछ । १० रुपैयाँ प्रति युनिटको हिसाबबाट हरेक दिनको खर्च ६० रुपैयाँ हुन आउँछ । तर, यो भन्दा बढी प्रकाश तपाईंलाई ६ वटाको एलइडी बल्बबाट प्राप्त हुन्छ । जबकि यस्ता बल्बहरुले खपत गर्ने बिजुलीको दिनभरिको खर्च १२ रुपैयाँ मात्र पर्न आउँछ । यो तरिकाबाट तपाईंले बर्षभरिमा १७ हजार रुपैयाँ भन्दा बढी बचत गर्न सक्नुहुनेछ । 

टिप्स ७ : प्रेसर कुकरमै बनाउनुहोस् खाना
खुला भाडाको साटो प्रेसर कुकरमै खाना बनाउने गर्नुहोस् । यसबाट खाना चाँडै पाक्छ र ७० प्रतिशतसम्म इन्धनको बचत हुन्छ । एक परिवार प्रत्येक महिना १४.२ किलोको एलपीजी सिलिण्डर प्रयोग गर्छ भने १४ सयको हिसाबबाट एकवर्षको कुल खर्च १६ हजार ८ सय हुन आउँछ । यो टेक्निक अपनाएपछि ७० प्रतिशत इनर्जी बच्छ, यसको अर्थ तपाईंले ११ हजार ७ सय रुपैयाँ बचत गर्न सक्नुहुनेछ । 

टिप्स ८ : ट्राफिक जामको दौरान गाडीको स्टार्ट बन्द गर्नुहोस्
ट्राफिक जाममा परिरहनुहुन्छ भने त्यसबेला आफ्नो सवारीको स्टार्ट बन्द गर्नुहोस् । यसबाट इन्धन खपत पनि कम हुन्छ र प्रदूषण पनि हुँदैन । यस्तो टेक्निक अपनाउँदा पनि तपाईंलाई इन्धन बापत हुने खर्चमा भारि कटौति हुन्छ र कार चलाउनुहुन्छ र हरेक दिन अफिस जानुहुन्छ भने जाममा पर्दा स्टार्ट बन्द गरेर वार्षिक २० हजार रुपैयाँसम्मको इन्धन बचाउन सकिन्छ । 

टिप्स ९ : काम छैन भने कम्प्युटरको मनिटर बन्द गर्नुहोस्
काम छैन भने हरेक समय कम्प्युटरको मनिटर खुल्ला नराख्नुहोस् । काम नहुँदा मनिटर बन्दा गर्नाले उर्जाको राम्रो बचत हुन्छ । अक्सर यदि हामी काम गरिरहेका छैनौ भने कम्प्युटरको मनिटरमा स्क्रीन सेभर सुरु हुन थाल्छ । यसले ९ घण्टाको अवधिमा करिब १ युनिट बिजुली खपत गर्छ । एक अनुमानका अनुसार दिनभरिमा १२ देखि १५ घण्टासम्म कम्प्युटर चलाइन्छ र ९ घण्टा चाहि तपाईको स्क्रीन बिना काम चलिरहेको हुन्छ । यस्तो काम गरेर तपाईंले वार्षिक रुपमा ४ हजार रुपैयाँसम्म बचाउन सक्नुहुन्छ । 

टिप्स १० : फोन चार्ज भएपछि चार्जरलाई अनप्लग गरिदिनुहोस्
मोवाइल फूल चार्ज भएपछि चार्जरलाई अनप्लग गर्ने गर्नुहोस् । चार्जरलाई लगातार प्लगमा लगाइरहँदा एकदिनमा २ युनिटसम्म बिजुली खपत हुने विज्ञ बताउँछन । अनप्लगको दौरान सेलफोन चार्जर एकवाट प्रतिघण्टाको दरले बिजुलीको खपत गर्छ । यदि तपाईंले हरेक दिन चार्जरलाई प्लग गरेरै छाड्नुभयो भने दैनिक तपाईंलाई २० रुपैयाँसम्मको नोक्सानी हुनसक्छ । यो आदतलाई सुधार गरेर तपाईंले वार्षिक ७ हजार रुपैयाँ भन्दा बढी बचाउन सक्नुहुनेछ ।