काठमाण्डौ । आर्थिक वर्ष २०७२ ७३ को अवधिमा उच्च नाफासहितको बित्तीय विवरण धमाधम प्रकाशन गरिरहेका बित्तीय संस्थामा लगानीकर्ता थुप्रिएका छन् । यी संस्थाहरुले बजारमा महत्वपूर्ण योगदान दिंदा मंगलबार नेप्से परिसूचक २७.२४ अंकले उकालो लाग्दै १७६३.५७ को उचाईमा पुगेको छ । 

मंगलबार विकास बैंक, वाणिज्य बैंक र बित्त समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ७३.९ अंकले उक्लिएको छ भने वाणिज्य बैंक २७.२४ र बित्त समूह २२.३२ अंकले उकालो लागेको छ । 

बजारमा सबैभन्दा बढी होटल समूहको सूचक ७६.०३ अंकले उक्लिएको छ । यसैगरी, जलविद्युत समूह ३०.०५,  बिमा समूह ३१.६ र अन्य समूह ०.८६ अंकले उक्लिएका छन् । उत्पादनमूलक समूह मात्र ओरालो लाग्यो । सो समूहको सूचकमा ६४.३८ अंकको गिरावट देखिएको छ । 

मंगलबार क वर्गका कम्पनीहरुको कारोबार बढी भएका कारण सेन्सेटिभ इण्डेक्स पनि ६.११ अंकले उक्लियो भने फ्लोट इण्डेक्समा २.५७ अंकको बढोत्तरी देखियो । 

ब्रोकर कमिसन घटेका कारण र सँगै कारोबारको समय पनि बढाइएका कारण सेयर बजारमा धेरै रकमको कारोबार हुन थालेको छ । मंगलबार एकैदिन १ सय ३४ कम्पनीका ५८ लाख ८८ हजार ७ सय ११ कित्ता सेयर २ अर्ब ७५ करोड ३७ लाख रुपैयाँमा किनबेच भयो । 

धेरै कारोबार गर्नेहरु

केही दिनअघिको सिलसिलालाई निरन्तरता दिंदै मंगलबार पनि सिद्धार्थ बैंक लिमीटेडले सबैभन्दा बढी २५ करोड ४३ लाखको सेयर कारोबार गर्यो । 

नेपाल बंगलादेश बैंकको १३ करोड ४५ लाख, नेपाल बैंक लिमीटेडको ९ करोड ९६ लाख, प्राइम कमर्सियल बैंकको ९ करोड ५७ लाख बराबरको सेयर  किनबेच भयो । 

यसैगरी, सेञ्चुरी कमर्सियल बैंकले ८ करोड ६३ लाख, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले ७ करोड ४६ लाख, एनएमबी बैंकले ७ करोड २७ लाख, माछापुच्छे बैंकले ६ करोड ५१ लाख, ग्लोबल आइएमई बैंकले ६ करोड ४१ लाख र सानिमा बैंकले ६ करोड ५ लाख बराबरको कारोबार गरे । 

धेरै कमाउनेहरु
मंगलबार सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकका लगानीकर्ताले कमाएका छन् । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । यसैगरी, १० प्रतिशतले नै सेयर मूल्य बढाउने अन्य कम्पनीहरुमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी र एनएमबी माइक्रो फाइनान्स बित्तीय संस्था पनि रहेका छन् । यस्तै, आइसीएफसी फाइनान्स, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, साझा विकास बैंक र माउण्ट मकालु डेभलपमेन्ट बैंक कमाउने १० कम्पनीको सूचिमा दर्ज भएका छन् । यी सबै कम्पनीले ९.९४ प्रतिशतदेखि १० प्रतिशतसम्मले सेयर मूल्य बढाएका छन् । 

धेरै गुमाउनेहरु
मंगलबार सबैभन्दा धेरै बोटलर्स नेपाल(तराई) लिमीटेडका लगानीकर्ताले गुमाउनु परेको छ । यो कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले तल झर्यो । यस्तै, मंगलबार नेपाल ग्रामीण विकास बैंक, सूर्य लाइफ इन्स्योरेन्स, राष्टिय विमा कम्पनी लिमीटेडको प्रोमोटर सेयर, एनएलजी इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, सगरमाथा इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पनि गिरावट आएको छ ।