काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि शुक्रबार बाँडफाँड गरिने भएको छ। 

आईपीओ बाँडफाँड कार्यक्रम धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सको कार्यालयमा राखिएको छ। बिहान ११ बजे आईपीओ बाँडफाँड गर्ने कार्यक्रम राखिएको क्यापिटलले जनाएको छ। 

बिपिडब्लु लघुवित्तले गत फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा १० प्रतिशलते हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकिएको थियो भने १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखी बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। 

अन्तिम दिनसम्म यो आईपीओमा करिब १५ लाख ३३ हजार आवेदकले कुल १ करोड ६७ लाख ६५ हजार बढी कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन्। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसमा भाग्यमानी ८ हजार ९५ जनाले मात्र १० कित्ताका दरले सेयर पाउने छन्। यस हिसाबले यो आईपीओमा करिब सवा १५ लाख आवेदकको हात खाली हुने देखिएको छ।