काठमाण्डौ । बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले गाउँ–गाउँबाट बिमा कम्पनीहरुमा प्रिमियम बापत संकलन भएको रकम लगानी गर्ने विकल्प नहुँदा समस्या भएको बताएका छन् ।
उनले हालसम्म मात्रै जीवन र निर्जीवन बिमा कम्पनीमार्फत प्रिमियमको रुपमा १८० अर्ब रकम संकलन भए पनि त्यो लगानी गर्ने ठाउँ नभएको भन्दै बिमा कम्पनीहरुले समस्या भोगिरहेका दाबी गरे ।
धितोपत्र बोर्डको २६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चापागाईले भने–‘गाउँ गाउँबाट हालसम्म लाइफ तथा नन्लाइफ इन्स्योरेन्सको प्रिमियम संकलन गरेको रकम १८० अर्ब(लाइफको १६० अर्ब र नन्लाइफको २० अर्ब) पुगिसकेको छ । यो रकम बैंकहरुको मुद्धती निक्षेपमा राख्नु बाहेक लगानीको अर्को विकल्प पाइएन । यसमा सबै सरोकारवाला गम्भीर भइदिनुपर्छ ।’
उनले बिमासँग सम्बन्धित नीतिगत र प्रक्रियागत सुधारका कारण पछिल्लो समय समग्र बिमा व्यवसायको वृद्धिदर ३० प्रतिशत भन्दा बढी रहेको उल्लेख गर्दै, तर, ९० प्रतिशतभन्दा बढी लगानी चाहि बैंकहरुको मुद्धतीमा हुने गरेको गुनासो गरे ।
उनले बिमा कम्पनीहरुको सहजताका लागि समेत सरकारले चाँडो भन्दा चाँडो ऋणपत्र बजारलाई व्यवस्थित बनाई विस्तार गर्नुपर्नेमा जोड दिए ।
उनले बिमा कम्पनीहरुको हितका लागि समेत देशमा मध्यकालीन र अल्पकालीन मुद्रा बजारको विकास हुन आवश्यक रहेको उल्लेख गर्दै भने–‘बिमा क्षेत्रबाट आएको पैसा मध्यकालीन उपकरणमा लगानी गर्न पाएका छैनौ । राष्ट्रबैंक, बोर्ड, नेपाल सरकार र बिमा समिति बसेर ऋणपत्र बजारको बिस्तार र विकासका लागि ठोस काम थालिहाल्नुपर्ने आवश्यकता छ ।’
अर्को एक फरक प्रसंगमा उनले धितोपत्र बोर्डलाई सकेसम्म चाँडो आफ्नै आधुनिक भवन बनाउन समेत सुझाव दिए । बिमा समितिले समेत आगामी वर्षदेखि कुपण्डोलस्थित कार्यालय क्षेत्रमै आधुनिक भवन बनाउन लागेको खुलासा गर्दै उनले थपे–‘बिमा समिति धितोपत्र बोर्डजस्तो गरीब चाहि छैन, हामीसँग पर्याप्त रकम छ । तपाईहरुसँग पैसा छैन भने सरकारसँग मागेरै भए पनि प्राइम लोकेसनमा आधुनिक र आकर्षक आफ्नौ भवन बनाउनुहोला ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago