काठमाडौ । बुलिस ट्रेन्डलाई पछ्याउँदै गइरहेको सेयर बजारमा साताको अन्तिम दिन बिहीबार दोहोरो अंकको वृद्धि देखिएको छ ।

बिमा कम्पनीहरुको एक्चुअरी रिपोर्ट आउने क्रम संघारमा रहेको र बिमा कम्पनीहरुले लाभांश प्रस्ताव गर्ने समय नजिकिएसँगै लगानीकर्ताहरु बिमातर्फ आकर्षित भएका छन् । बैंकहरुको सेयर अधिक आपूर्ति हुने तर बिमा कम्पनीको सेयर भने कम आपूर्ति हुनु र न्यून बजारमूल्यमा किनबेचको तीव्र मोलमोलाइकै कारण बिमा सेक्टर हराभरा भएको हो ।

आजको बजारको परिदृश्यमा इन्स्योरेन्स सेक्टर र लघुवित्तमा समेत लगानीकर्ताले खरिदचाप बढाइरहेको प्रस्ट हुन्छ ।

निकै लामो समय सुषुप्त अवस्थामा रहेका लगानीकर्ता बजारको बढ्दो ट्रेन्डलाई समाउन पुराना तथा नयाँ लगानीकर्ताको बाक्लो भीड बढेको ब्रोकरहरु बताउँछन् । बढ्दो बजारमा नाफा कुम्ल्याउने उत्कट चाहना लिई बजार छिर्ने नयाँ लगानीकर्ताको प्रवेश पनि बाक्लिँदै गएको उनीहरुको दाबी छ ।

पछिल्लो समय सरकारसमेत सेयर बजारप्रति लचक हुँदै जानु र दिनानुदिन लगानीकर्ताको मनोबल बढ्दै जानुलाई आगामी दिन नेप्से उकालै लाग्ने जानकार बताउँछन् । चौतर्फी माहौल सकारात्मक बन्दै जाँदा कम आपूर्ति भएका सेयरमा पूँजीगत लाभ खाने प्रयासमा लगानीकर्ताहरु बैंकबाट समेत सेयर कर्जा लिई बजार प्रवेश भइरहेको देखिन्छ ।

आज नेप्से इन्डेक्स हिजोको तुलनामा १९.५१ अंकले बढ्दै १३२५.३८ को विन्दुमा पुग्यो । सेन्सेटिभ इन्डेक्स भने ३.५७ अंकले बढ्दै २८१.७६ को विन्दुमा उक्लियो ।

आजको दिन नेप्से उपसमूहमा रहेका ११ वटा समूहमा हरियाली छाएको छ भने व्यापार समूहमा रातो पोतिएको छ । व्यापार समूहमा १५.३१ अंकको गिरावट आएको छ ।

बैंकिङ समूहमा १८.२५ अंकको बढोत्तरी देखिएको यो दिन होल्टेस् समूहमा २४.०८ अंकको वृद्धि देखियो । विकास बैंकमा १६.४३ अंक, जलविद्युत् समूहमा ९.६६ अंक, वित्त समूहमा ६.३६, निर्जीवन बिमा समूहमा २२४.६२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ९.४२ अंक, अन्य समूहमा १.९२ अंक, लघुवित्त समूहमा १८.६ अंक, जीवन बिमा समूहमा १६८.६३ अंक र म्युचुअल फन्डमा ०.०४ अंकको बढोत्तरी आयो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृत १७८ कम्पनीका ४६ लाख २ हजार १०१ कित्ता सेयर १ अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ रुपैयाँमा कारोबार भयो ।आजको दिन उच्च कारोबार गर्नेहरुमा बिमा समूहको प्रभुत्व रह्यो । १० उच्च कारोबार गर्ने कम्पनीहरुमा आठ स्थानमा बिमा समूहले कब्जा जमाए । सूर्या लाइफ इन्स्योरेन्सले ११ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार गरेको यो दिन प्राइम लाइफ इन्स्योरेन्सले ७ करोड २० लाख रुपैयाँबराबरको कारोबार गर्न सफल भयो ।

नेपाल लाइफ इन्स्योरेन्सले ६ करोड ९३ लाख, एसियन लाइफ इन्स्योरेन्सले ६ करोड ८१ लाख, नेसनल लाइफ इन्स्योरेन्सले ६ करोड ६८ लाख, प्रभु बैंकले ५ करोड ६६ लाख, गुराँस लाइफ इन्स्योरेन्सले ५ करोड ६० लाख, नाडेप लघुवित्तले ५ करोड ४१ लाख, नेको इन्स्योरेन्सले ५ करोड २५ लाख र नेपाल इन्स्योरेन्स ५ करोड १५ लाख रुपैयाँबराबरको कारोबार गरे । 

धेरै कमाउने र धेरै गुमाउने

आजको दिन एभरेष्ट इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सका सेयरधनीहरुले धेरै कमाए । दुवै कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लग्यो । एभरेस्ट इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा ९.८६ प्रतिशतको बढोत्तरी भयो । 

त्यस्तै युनाइटेड फाइनान्सको सेयरमूल्यमा ९ प्रतिशतको हाराहारीमा र हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्यमा पनि क्रमशः ८ प्रतिशतभन्दा बढीले वृद्धि भयो ।

आजको दिन हिमालय ऊर्जा विकास कम्पनी र ग्रिन डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए । यी दुवै कम्पनीको सेयरमा ५ प्रतिशतभन्दा बढीले गिरावट आयो।