काठमाण्डौ । बजारको बियरिस टेण्डका कारण ओठतालु सुुकेका लगानीकर्ताहरुका लागि मंगलबारको घट्दो बजारले आशाको किरण छाडेको छ । दोहोरो अंकले घटेको नेप्से परिसूचक १४ सय अंकको हाराहारीमा झरे पनि टर्नओभर(कुल कारोबार)ले दरिलो साथ दिएपछि बजारको यो डाउनफल धेरै दिनसम्म जारी नरहला कि भन्ने आशा बढेर गएको हो । 

''टर्नओभरमा भएको यो बढोत्तरी(सुधार) ग्राजुएल्ली गयो भने लेखेर राख्नुुहोस् बजार स्थिर भई उकालोको यात्रातर्फ अघि बढ्छ ।'' स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालले भने-''मंगलबारको बजारले मार्केट स्थिर हुने र वृद्धि भएर जाने झिनो संकेत दिएको छ । त्यसकारण लगानीकर्ता धेरै आत्तिनुपर्ने अवस्था छैन ।'' नेप्से परिसूचकमा पहिरो जाँदा समेत टर्नओभर भने ५९ करोड माथि हुनुु तथा सोमबारको तुलनामा करिब १२ करोड बढीको कारोबार हुनुले घटेको भाउमा सेयर किन्नेहरुको संख्या बजारमा बढेकोतर्फ संकेत गर्ने उनको भनाई छ । ''बजारले क्रयशक्ति गुमाएको छैन, घटेको मूल्यमा सेयर किन्नेहरु पनि छन् भन्ने यसले देखाउँछ ।'' उनले भने-''त्यसकारण यसलाई निरश लगानीकर्ताका लागि आशा जगाउने घटनाको रुपमा लिनुपर्छ ।'' 

सोमबार ४८ करोड १२ लाखको सेयर किनबेच भएको थियो । 

मंगलबार नेप्से परिसूचक २५.०४ अंकले घटी १४०७.५३ अंकमा झरेको छ । यो दिन पनि सबै समूहको परिसूचकमा रातो पोतियो । 

सबैभन्दा बढी बिमा र बित्त समूहको सूचकमा पहिरो गयो । बिमा समूह १९१.६३ अंक(२.८८ प्रतिशत) र बित्त समूह १६.५७ अंक(२.४१) प्रतिशतले घटे । वाणिज्य बैंक समूह २४.१४ अंकले घट्दा विकास बैंक, होटल, जलविद्युत र अन्य समूहमा क्रमशः २१.८३, १७.९४,  ३०.७२ र ३.४७ अंकले ओरालो लागे । 

मंगलबार सेन्सेटिभ इण्डेक्स ५.४८ र फ्लोट इण्डेक्स १.९९ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
सबैभन्दा बढी वाणिज्य बैंकहरुको २४ करोड ५३ लाख बढीको सेयर किनबेच भयो । बिमा समूहले १८ करोड बढीको कारोबार गर्यो भने विकास बैंकहरुले ७ करोडको हाराहारीमा कारोबार गरे । 

कम्पनीगत हिसाबले सबैभन्दा बढी सिद्धार्थ बैंकले ३ करोड ३३ लाखको कारोबार गर्यो । बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले २ करोड ५९ लाख, एभरेष्ट बैंकले २ करोड ४५ लाख, हिमालय जनरल इन्स्योरेन्सले २ करोड १४ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २ करोड ६ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा मंगलबार ४ स्थानमा वाणिज्य बैंक, ४ स्थानमा बिमा कम्पनी र २ स्थानमा विकास बैंकको कब्जा रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
पैसा छाप्नबाट घट्दो बजारले समेत रोकेन एनबी इन्स्योरेन्सलाई । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । राप्तिभेरी विकास बैंक लिमीटेडको सेयर मूल्यमा ३.५२ प्रतिशतको वृद्धि भयो भने पोखरा फाइनान्सको सेयर मूल्य पनि ३.४२ प्रतिशतले वृद्धि भयो । 

मंगलबार सबैभन्दा बढी मञ्जुश्री फाइनान्स र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले गुमाए । यी दुुई कम्पनीको सेयर मूल्य क्रमशः ९.४९ र ९.३८ प्रतिशतले घट्यो । यस्तै, प्रोग्रेसिभ फाइनान्स, नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेड र एनएलजी इन्स्योरेन्सको सेयर मूल्य क्रमशः ८.८२, ८.८१ र ८.१३ प्रतिशतले घट्यो । 

मंगलबार १७ कम्पनीले सेयरबाट कमाए भने बाँकी सबैको कम्पनीको सेयर मूल्यमा पहिरो गयो ।