काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को आह्वानमा मन्दीमा गएको अर्थतन्त्रका समस्याको सही पहिचान र समाधानका उपाय निकाल्ने गरी आह्वान भएको सर्वपक्षीय छलफल सिंहदरबारमा सुरु भएको छ । 

केहीबेरअघिबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा छलफल सुरु भएको हो । 

छलफलमा सरकारका अधिकांश मन्त्रीहरु, निजी क्षेत्रमा प्रतिनिधि, नेपाल राष्ट्रबैंकका गभर्नर तथा प्रतिनिधिहरु, राष्ट्रिय योजना आयोगका अधिकारी, बैंकर, विभिन्न राजनीतिक दलसम्बद्ध अर्थविद तथा नेता लगायतको सहभागिता छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार विभिन्न उल्झनमा फसेको आन्तरिक अर्थतन्त्रको समस्या समाधानका लागि सोमबार सरकारको उच्चस्तरीय छलफलपछि आजको सर्वपक्षीय छलफल डाकिएको हो । 

यो छलफलबाट मन्दीको चपेटामा फस्दै गएको ठानिएको अर्थतन्त्रको पुनर्जागरणका लागि ठोस कदम चाल्न आवश्यक विभिन्न उपायहरुको विषयमा निश्कर्ष निस्किने अपेक्षा गरिएको छ । 

पछिल्लो समय नेपालको बाह्य अर्थतन्त्रमा निकै राम्रो सुधार भए पनि आन्तरिक अर्थतन्त्र भने समस्याग्रस्त बनेको छ । मन्दीका कारण चाडपर्वमा चलायमान हुनुपर्ने बजार पनि सुस्त बन्यो । 

एकातिर बैंकमा तरलतायोग्य रकम थुप्रिएको छ भने बजारमा माग सिर्जना हुन सकेको छैन । लगानीकर्तादेखि पैसा हुने सर्वसाधारणमा समेत लगानी गर्ने वा खर्च गर्नका लागि आत्माविश्वासको कमी छ । 

बजारको चहलपहल ह्वात्तै घट्दा आयातबाट हुने सरकारको आम्दानी घटेको छ । जसका कारण सरकारले चालु खर्च चलाउनैका लागि सरकारले एकखर्ब रुपैयाँभन्दा बढी आन्तरिक ऋण उठाइसकेको छ । ऋणले चलिरहेको सरकारले आगामी दिनमा के गर्ने भन्ने स्पष्ट दिशा नभेटिरहेको बेला सर्वपक्षीय भेला बोलाइएको छ । 

यो भेलाप्रति सर्वत्र चासो देखिएको छ ।