काठमाण्डौ । सरकारले नेपालमा पहिलोपटक विलासिता शुल्कको रुपमा कर असूल्ने अभ्यासको सुरुवात गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटसँगै संघीय संसदमा आर्थिक विधेयक प्रस्तुत गर्दै नयाँ कर अभ्यासको सुरुवात गरिने घोषणा गरेका हुन् । 

यो व्यवस्थासँगै पाँचतारे र सोभन्दा माथिको तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा, दश लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा २ प्रतिशत बिलासिताको कर लाग्नेछ । 

पाँचतारे तथा सोभन्दा माथिका होटल र लक्जरी रिसोर्टले सेवा प्रदान गरेको बखत, आयातित मदिरामा पैठारी हुने भन्सार विन्दूमा पैठारीका बखत र १० लाखभन्दा बढीका हिरामोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहना बिक्रेताले बिक्रीका बखत कर लगाउनुपर्नेछ ।