काठमाण्डौ । सूचीकृत कम्पनीका बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएसँगै नेप्से सूचकांकमा झिनो अंकको मात्रै गिरावट आएको छ। आजमात्रै नेप्सेले सातवटा कम्पनीका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको छ ।
यो साता धेरै कम्पनीका सेयरमूल्य समायोजन हुँदासमेत समग्र नेप्से सूचकांक लगभग थामिनुले बजार वृद्धिको आशा अझै रहेको र बजारले लय समातिरहेको जानकारहरु बताउँछन् ।
नेपाल राष्ट्र बैंकले हालसालै व्यक्तिगत कर्जा प्रवाह गर्दा आम्दानीको ५० प्रतिशत (कर चुक्ता गरिएको) भन्दा बढी नगर्न बैंकहरुलाई दिएको कडा निर्देशनले समेत सेयरबजारमा लगानी आकर्षित नगर्ने पो हो कि भन्ने शंका उत्पन्न भएको छ । यद्यपि बैंकहरुमा भएको तरलताले केही झिनो प्रतिशतले ब्याजदर घटिरहेको आशाले समेत बजारलाई थप ऊर्जा दिन सक्ने अड्कलबाजी जानकारीहरुले गरेका छन् ।
हालको बजार ग्रिन जोनमा रहेका कारण विस्तारै आम लगानीकर्ता तथा संस्थागत लगानीकर्ताहरु सल्बलाउन थालेको देखिन्छ ।
अर्को एउटा रोचक प्रसंग कोट्याउँदा बजारको ट्रेन्डमा सीमित स्क्रिप्ट बढ्ने लहडसँगै आम लगानीकर्ताले लगानी ओइराइरहेको ब्रोकर हाउसमा कार्यरत एक कर्मचारी भन्छन्, ‘हिजोआजको बजारमा चलेका केही सेयरमा लगानीकर्ताले उधारोमै भए पनि सेयर खरिद गर्ने र थोरै बढेमा तुरुन्त हिसाब समायोजन गर्ने परिपाटीले गर्दा हाल ब्रोकरहरुलाई समेत सेटलमेन्टका लागि मुस्किल परिरहेको छ ।’
आजको दिन नेप्से सूचकांक हिजोको तुलनामा १.९२ अंकको झिनो गिरावटसँगै ११६६.०४ विन्दुमा झरेको छ । सेन्सेटिभ सूचकांक भने हिजोको तुलनामा १.०१ अंकले घट्दै २५२.३२ विन्दुमा थामिएको छ ।
आजको नेप्सेमा सूचीकृत २१२ कम्पनीमध्ये १७७ कम्पनीका १३ लाख २ हजार ९८६ कित्ता सेयर ४४ करोड २२ लाख ५६ हजार १५६ रुपैयाँमा कारोबार भयो ।
यो दिन नेप्सेमा रहेका १२ उपसमूहमध्ये ६ वटा उपसमूहमा हरियाली छायो भने बाँकी ६ वटामा रातो पोतियो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
साताको कारोबार तेस्रो दिन मंगलबार पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै ६३ हजार १३५ कित्ता सेयर ६ करोड रुपैयाँ बढीमा कारोबार भएको छ । केही दिनदेखि यो कम्पनीको बम्पर लाभांशको तीव्र पर्खाइमा रहेका लगानीकर्ताहरुको आकर्षणले सेयरमूल्यमा लगातार वृद्धि भएसँगै आज सबैभन्दा बढी कारोबार भएको कम्पनी दरिएको छ ।
यसैगरी शिवम् र हिमालयन डिस्टिलरीले राम्रो कारोबार गर्न सफल भए । यी दुवै कम्पनीले क्रमशः २ करोड ७८ लाख र २ करोड ५४ लाख रुपैयाँबराबरको कारोबार गर्न सफल भए ।
यस्तै एसियन लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष, ज्योति विकास बैंकको संस्थापक सेयर, साल्ट ट्रेडिङ कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक र एनएमबी बैंकले क्रमशः १ करोड ६६ लाख, १ करोड ६२ लाख, १ करोड ३५ लाख, १ करोड ३० लाख, १ करोड २९ लाख, १ करोड १५ लाख र १ करोड ४ लाख रुपैयाँबराबरको कारोबार गरे ।
धेरै कमाउने कम्पनी
आजको दिन विशाल बजार कम्पनी र सिभिल लघुवित्तका सेयरधनीहरु मालामाल बनेका छन् । ती कम्पनीका सेयरमूल्यमा लगभग ८ प्रतिशतले वृद्धि हुँदा सबैभन्दा धेरै कमाउने कम्पनी बने ।
धेरै गुमाउने कम्पनी
यस दिन नेपाल टेलिकम (एनटीसी) का सेयरधनीहरुले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको ४५ प्रतिशत नगद लाभांश नेप्सेमा सेयरमूल्यमा समायोजन नभए पनि बजार आफैँले करेक्सन गरेर ३९ रुपैयाँसम्मको गिरावट आयो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago