काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले आगामी कात्तिक महीनाबाट बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ता(अभिकर्ता) को इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उतीर्ण हुनुपर्ने प्रावधान रहेकाले प्राधिकरणले अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागिएको हो ।

बीमा ऐन अनुसार बीमा प्राधिकरणले गत मंसिरदेखि परीक्षा प्रणालीको शुरुवात गरेको थियो । शुरुवाती चरणमा भने बीमा कम्पनीहरुले नै परीक्षा लिन पाउने व्यवस्था गरिएको थियो । प्राधिकरणले गत मंसिर ७ गते बीमा मध्यस्थकर्ता परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७९ जारी गरेको थियो ।

सोही निर्देशिका अनुसार बीमा कम्पनीहरुले आफ्ना अभिकर्ताहरुलाई परीक्षामा सहभागी गराएर लाइसेन्स दिएका थिए । प्राधिकरणले अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गर्नका लागि सफ्टवेयर बनाएर परीक्षा लिने तयारी गरेको स्रोतले बताएको छ ।