काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत निष्कासित धितोपत्र खरिद गर्न योग्य संंस्थागत लगानीकर्तालाई सूचीकृत हुन निवेदन दिन आह्वान गरेको छ।

बोर्डले बुधबार एक सूचना जारी गर्दै बुक बिल्डिङ विधिमार्फत निष्कासित धितोपत्र खरिद गर्ने योग्य संस्थागत लगानीकर्ताका रुपमा बोर्डबाट स्वीकृत प्राप्त गर्न नियमावली तथा निर्देशिकाबमोजिम आवश्यक कागजातसहित ३५ दिनभित्र निवेदन पेस गर्न आह्वान गरेको हो। 

बुक बिल्डिङ विधिमार्फत निष्कासित धितोपत्र खरिद गर्न योग्य संस्थागत लगानकर्तामा सूचीकृत संगठित संस्था, विशेष ऐनद्वारा स्थापित संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोष योजना, मर्चेन्ट बैंकर, मान्यताप्राप्त अवकाश कोष, धितोपत्र व्यापारी र नेटवर्थ न्यूनतम रु. १० करोड भएका धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित लगानी कम्पनी पर्ने बोर्डले जनाएको छ।

बुक बिल्डिङ कार्यनिर्देशिका २०७७ बमोजिम संगठित संस्थाले आईपीओ निष्कासन गर्दा धितोपत्रको निष्कासन मूल्य बजारले नै निर्धारण गर्न तथा मूल्य निर्धारणसम्बन्धी प्रक्रियालाई अन्तर्राष्ट्रिय अभ्यासको समेत अनुकरण गर्दै पारदर्शी र प्रतिस्पर्धी मूल्य निर्धारण गर्न धितोपत्र बोर्डले आईपीओ निष्कासनको नयाँ पद्धति अभ्यासमा ल्याएको हो।